केशवप्रसाद दुवाडी
संसारमा दुई प्रकारका संरचना हुन्छन् प्रकृति निर्मित संरचना र मानव निर्मित संरचना । आध्यात्मिक दृष्टिकोणले प्रकृति निर्मितलाई देव निर्मित संरचना मान्छ । सामान्यतया प्रकृति निर्मित संरचना बुझ्न सकिन्छ, मानव निर्मित संरचना बुझ्न पनि सकिन्छ, परिमार्जन र परिस्कृत गर्न पनि सकिन्छ, फाल्न पनि सकिन्छ र फेर्न पनि सकिन्छ।
सँस्कृति, प्रथा र परम्परा मानव निर्मित संरचना हो । “लोके कृति कुले वृद्धि “अर्थात् समाजले गरेको कुरा कुल परम्परा बनेर अघि बढ्छ । तीजको सन्दर्भमा पनि यस्तै हो । तीजको पर्व अघिल्लो रात दरखाने, एक दिन व्रत बस्ने भोलिपल्ट खाल्सा अथवा खालि बस्ने खाना खाने नाँच गान गर्ने र पर्सि पल्ट पञ्चमी पूजा गरेर मैजारो गर्ने गरी ४ दिन मनाउने चलन छ ।
भाद्र महिनाको शुक्ल पक्षको द्वीतियाको रात दर खाने, तृतिया तिथीका दिन व्रत वस्ने, चतुर्थीमा आराम गर्ने र ऋृशि पञ्चमी का दिन अरुन्धती सहित कश्यप आदि सप्त ऋषिको पूजा गर्ने गरिन्छ । तीज नेपाल र भारत लगायत सनातन हिन्दु धर्म मान्ने मानिसहरु रहेका देशहरुमा शिव पार्वतीको पूजा उपासना गरी मनाउने चलन छ ।
हरितालिका शव्दलाई विग्रह गरेर हेर्दा हरित् तालिका हुन्छ यस सन्दर्भको अर्थ हेर्दा हरित्–हरिएको वा भगाइएको, तालिका–सखी सखीहरुद्वारा भगाएको भन्ने अर्थ आउँछ । तीजको व्रत कथाको सार पनि पार्वतीलाई महादेव मन परेको तर पार्वतीका पिता हिमालयलाई महादेवको चाल चलन मन नपरेकोले विष्णुसँग बिबाह गर्न खोजेकोले पार्वती उदास भएको देखेर उनका साथीहरूहरुले उनलाई भगाएर कसैले नदेख्ने गरी जङ्गलमा लुकाएको ।
पार्वतीले महादेवको तपस्या गरेको र अन्त्यमा सफल भएको भन्ने रहेको छ । यसरी अरु नारीहरुले व्रत गरेमा महादेव जस्तै शक्तिशाली, प्रेमी, भोला खालको पति प्राप्त हुन्छ भन्ने मान्यता र विश्वास रहेको छ । तर ऋषि पञ्चमीको कथामा भने विशेष गरी महिलाको रजस्वलालाई बढी केन्द्रित गरिएको छ ।
कथा अनुसार स्वर्गका राजा इन्द्रले बृत्राशुर नामको राक्षसलाई मारेको र बकत्राशुर ब्राम्हणको छोरा भएकोले इन्द्रलाई ब्रम्हत्या लागेको र सो पापबाट छुटकारा पाउनका लागि इन्द्र ब्रम्हाजीको शरणमा जाँदा ब्रम्हाले सो पापलाई चार भाग लगाएको जस्मा एक भाग नदीमा, एक भाग अग्निमा, एक भाग पर्वतमा र एक भाग स्त्रीको रजस्वलामा फालिदिएको हुनाले स्त्री रजस्वला हुँदा अशुद्ध हुन्छन् भन्ने कथा रहेको छ ।
हो यहीँ निर अधिकारमुखी अवधारणाबाट विश्लेषण गर्दा पाप गर्ने इन्द्र सजायँ भोग्ने स्त्री किन ? यो त सोझै अन्याय हो नि! भन्ने तर्क आउँछ हुन पनि हो । तीजको व्रतकथा ऋषि पञ्चमीको कथा शिव पुराण, लिङ्ग पूराण, स्कन्ध पुराण र भविष्योत्तर पुराणहरुमा आधारित छ । पुराण भनेको केही घटना, कथा र मिथकहरुको आधारमा तयार पारिएका ग्रन्थहरु हुन् । यी दुई कथा बढी भविष्योत्तर पुराणमा आधारित छ र अलि बढाइ चढाइ गरेर कथा वर्णन गर्ने गरेको पाइन्छ । भविष्योत्तर पुराण छुट्टै पुराण नभएर १८ पुराण मध्ये भविष्य पुराणकै अन्तिम खण्ड हो। जो पछि थपिएको भन्ने पनि गरिन्छ ।
दुवै कथामा कृष्ण र युधिष्ठिर बीच भएको संवादमा आधारित भएकोले यो महाभारत युद्ध पछि सुरु भएको मान्न सकिन्छ । महाभारत काल करिब ५ हजार बर्ष अघि थियो भन्ने मान्यता छ । “दुष्टा स्पृश्यति भाण्डानि, गृहकर्माणि सँस्थिता “नारी रजस्वला भएको बेला ४ दिन सम्म घरधन्दा नगर्नु भान्छा, भण्डार छुन नदिनु भन्ने लेखिएको छ ।
अर्को श्लोकमा “प्रथमेक्हनि चाण्डाली, द्वितीये ब्रम्हघातिनी, तृतीये रजकी प्रोक्ता चतुर्थेक्हनि शुद्ध्यति “
अर्थात् रजस्वला भएकी स्त्री पहिलो दिनमा चाण्डाल्नी सरह, दोस्रो दिनमा ब्रम्हहत्या गर्ने सरह, तेश्रो दिनमा धोवी सरह र चौथो दिनमा मात्र शुद्र हुन्छे भनिएको छ ।
यदि ज्ञान अज्ञान वस छोइयो भने त्यसको पापबाट मुक्त हुनका लागि ऋषि पञ्चमीमा विधि पूर्वक गङ्गा श्नान गरी पूजा लगाउनु पर्छ भन्ने मान्यता रहेको छ । यो कुरालाई पनि अधिकारमुखी अवधारणाले रजस्वला भनेको नारीहरुमा हुने प्राकृतिक कुरा हो यो पाप हैन भन्छ । यो पनि सही कुरा हो ।
ऋषि पञ्चमीको कथामा पित्रृशत्तात्मक सामन्ती सोँच हाबी भएको पाइन्छ । यसले भनेका सबै कुरा मान्न संभव पनि छैन र मानिएको पनि छैन । रजस्वला भएको बेलामा नारीको स्वास्थ्य अवस्था कमजोर हुने हुनाले उनलाई घर धन्दा नगराउने, आराम गर्ने वातावरण मिलाउनका लागि पनि यो चलन चलाको हुन सक्छ ।
घरबाट बाहिर निकाल्नु पर्छ छुट्टै घरमा राख्नु पर्छ भन्ने कुरा चाहिँ यी कथाहरुमा छैनन् । मात्र घरधन्दा नगर्ने र कसैलाई नछुने भन्ने कुरा छ ।अर्को कुरा ऋषि पञ्चमीको विधिमा शरीरको सरसफाइ प्रति विशेष गरी महिलाको प्रजनन अङ्ग सभाइ गर्ने कुरा पनि छ । अहिलेको समाजमा त योन प्रजनन स्वास्थ्य र सरसफाइ बारे मान्छेहरु धेरै नखुल्ने अवस्था छ भने त्यो बेलामा कसरी खुल्नु त्यसैले व्रत, श्नानमा यी कुराहरुलाई प्राथमिकता दिइएको होकि !
अर्को कुरा पुराणहरु वेद र उपनिषद्माहरुमा आधारित भई केही बढाई चढाई गरेर लेखिएको पाइन्छ तर वेदहरुमा रजस्वला संवन्धी कुनै नियम भएको भेट्न सकेको छैन । तसर्थ : वेदलाई सनातन धर्मको संविधान र पुराणहरुलाई नियम कानून मान्ने हो भने वेदमा नभएको कुरा संविधान सम्मत नभएकोले मानि रहनु पर्छ भन्ने छैन ।
चाणक्यले भनेको कुरा यहाँ महत्वपूर्ण छ जस्तो कि
“भस्मना शुद्ध्यते कास्यं ताम्रमम्लेन शुद्ध्यति ।
रजसा शुद्ध्यते नारी नदी वेगेन शुद्ध्यति ।।“
अर्थात् काँसका भाँडा खरानीले माझे पछि शुद्ध हुन्छ, तामाका भाँडा अमिलोले माझे पछि शुद्ध हुन्छ नदी बेगले बगे पछि शुद्ध हुन्छ र नारी रजस्वला भए पछि शुद्ध हुन्छ । तीजको व्रत विधिमा दिनभर निराहार रहेर शिवालयमा जाने वा शिवलिङ्ग बनाएर पूजा अर्चना गर्ने र रात भर नाँच गान भजन किर्तन गरेर भोलिपल्ट समापन गर्ने भनिएको छ । श्रीमान र श्रीमति दुवै जनाले संयुक्त रूपमा यो व्रतकथा सुनेमा दुवैलाई आरोग्य र सौभाग्य प्राप्त हुन्छ भनिएको छ ।
जस्तै कि (“भर्त्रा सह कथांश्रुत्वाभक्तियुक्तेन चेतसा” त्यसैले तीज नारीहरुको मात्र नभएर नारी पुरुष दुवैको हो । तीजको कथामा श्रीमानको गोडाको पानी खान भने भनेको छैन । तीज पौराणिक कथा वा मिथक जे भए पनि नेपालको सन्दर्भमा यो सँस्कार र सँस्कृतिको रूपमा चलि आएको छ ।
विशेष गरी विवाहित नारीलाई माइती सँग जोड्ने संबन्ध सेतुको रूपमा लिदै आइएको छ । कृषि प्रधान देशका नारीहरु बर्खाको खेतिपाती सकिए पछि फुर्सद मिलाएर माइती भेट्न पाउन् भनेर पनि यो चलनलाई महत्व दिएको हो । अहिले जस्तो यातायात र सञ्चार सुविधा नभएको अवस्थामा, खोला नालामा पुल पुलेसा नभएको बेलामा, चेलीहरु र माइतीको भेटघाट हुन कठीन हुने हुँदा दाजु भाइले यही बेलामा चेलीबेटीलाई लिन जाने चलन चलाइएको हो ।
अलि पहिलाका तीज गीतहरुमा यस्तै कुराहरु उल्लेख गरिएको हुन्थ्यो । जस्तो कि “फाटिदे न बादलु लागि देन घाम,देखाइ देन हामीलाई माइतीको देश”, “सातै घाट पारी दिनु भयो बाबाले कसरी तरुँ भदौरे भेल” तारीमा देउ न हे माझी दाई, चाँडै पुग्नु छ नि माइतीको घर”
“यसपालीको तीजमा माइती लिन आएनन्, चेलीको वेदना थाहै पाएनन” आदि आदि ।
यस्ता गीतहरुमा घर तथा समाजले नारी माथि गरेका विभिन्न नराम्रा व्यवहार विरुद्ध असन्तुष्टि पोख्ने पनि गरिन्छ । यसलाई यौटा “कोपिङ्ग स्ट्राटेजी”को रूपमा पनि लिन सकिन्छ ।
तीजको व्रत वृद्ध, अशक्त, विरामी तथा गर्भवतीहरुले वस्नु पर्दैन । व्रत भन्ने कुरा इच्छाले बस्ने हो त्यसै अनिवार्य हुनु पर्छ भन्ने हैन तर यसको विरुद्धमा जथाभावी बोल्ने, पवित्र चाडलाई आडम्बर र विलासिता प्रदर्शन गर्ने माध्यम बनाउने यी गलत हुन् ।तीजको सँस्कृति हजारौँ बर्ष पुरानो छ । चाल चलन, धर्म सँस्कृति पनि समयानुकूल परिमार्जन गर्दै र हुँदै जाने कुरा हो ।
सँस्कृति र प्रकृति देशको पहिचान हो । यसलाई मासेर हैन परिस्कृत र परिमार्जन गर्दै युग सापेक्ष बनाउँदै लानु पर्छ । गाउँघर तिर काँक्रो काट्दा “तितो तितो गइजा,मीठो मीठो आइजा” भने जस्तै हाम्रा धर्म सँस्कृतिका पनि असल र राम्रा कुराहरुलाई ग्रहण गर्दै नराम्रा कुराहरुलाई छाड्दै अघि बढ्नु पर्छ ।