वर्ष २०७८ : नेपाली सिनेमामा उपलब्धि कम, विवाद र असफलता बढी

काठमाडौं, २९ चैत 

२०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नाै महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्याे । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनले पनि न दर्शक कमाए न पैसा । 

१५ वैशाखबाट कोरोनाको दोस्रो लहरले देशैभरका सिनेमा हल बन्द भए । १५ भदौबाट हल खोल्ने सरकारले निर्णय गर्‍यो । तर, फिल्म नहुँदा हल खुलेनन् । १७ असोजबाट हल खुले । पहिलो दिन नै दुईवटा हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र नोबडी रिलिज भए । 

हलिउड चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्रकर्मी पनि जुर्मुराए । त्यसपछि २६ असोज अर्थात् फुलपातिको दिन शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शनमा आयो । जसले दर्शकको साथ पाउन सकेन् । 

त्यसपछि ‘धूम-४’, ‘ओभरडोज’, ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट-३’ रिलिज भए । त्यसपछि फेरि तेस्रो लहर आयो ।सिनेमा हल बन्द भए । 

पुनः हल खुलेपछि फागुनदेखि क्रमशः ‘म यस्तो गीत गाउँछु २’, ‘लप्पन छप्पन २’, ‘आकाशे खेती,’ ‘चिसो एस्ट्रे,’ ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ रिलिज भए । तर कुनैले पनि लगानी उठाउन सकेनन् । यो समय भने हलको शो र विदेशी फिल्मको प्रभुत्वको समस्या थिएन ।

समस्या त फिल्मको कथा, सिनेम्याटिकको थियो । राम्रो चलचित्र बनाउन नसकिएपछि चलचित्र निर्माताहरूले भने दर्शकलाई दोष दिए । नेपाली चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकिरहेका बेला विदेशी चलचित्रले राम्रै व्यापार गरे । 

तिहारको अवसरमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । जसले दर्शक हलसम्म तान्यो । अक्षयकुमार अभिनिति उक्त चलचित्रले दर्शकलाई हलसम्म तानेको थियो । तर, त्यही अवधिमा रिलिज भएका नेपाली चलचित्रले भने पानीसम्म भन्न पाएन । 

त्यस्तै आलिया भट्ट अभिनित बलिउड चलचित्र ‘गंगुबाई काेठियावाडी’ ले नेपाली दर्शकलाई हलसम्म तानेको थियो । साउथ इन्डियन स्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा’ १७ डिसेम्बारबाट रिलिज भयो । जुन चलचित्र हेर्न दर्शकको ओइरो लाग्यो । त्यहीबेला हलिउड फिल्म ‘स्पाइडर म्यान नो वे होम’ प्रदर्शनमा आयो । यो चलचित्र हेर्न पनि दर्शक हलसम्म पुगे । 

त्यसपछि २५ मार्चदेखि साउथ इन्डियन चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आयो । जसलाई हेर्न दर्शकको ओइरो लाग्यो । १२ करोडभन्दा बढीको कलेक्सन गरिसकेको यो चलचित्रले अझै दर्शक पाइरहेको छ । 

यो वर्ष नेपाली चलचित्रका लागि व्यापारभन्दा विवादले प्रश्रय पायो । कहिले महानायकको विवाद त कहिले विदेशी चलचित्र नेपालमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने विवाद । कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई सुधार गर्ने अवसर थियो । त्यसका लागि चलचित्रकर्मी तयारीमा लाग्नुपर्ने थियो । तर, उनीहरू आपसी झैझगडामा व्यस्त देखिए । 

महानायकको विवाद

२६ असोजबाट प्रदर्शनमा आएको चलचित्र ‘डाँडाको वरपीपल’ लाई दर्शकले बहिस्कार नै गरे । त्यसको कारण थियो- महानायक विवाद । निषेधाज्ञापछि हल खुल्यो । चलचित्र पनि प्रदर्शनमा आयो । चलचित्र प्रदर्शनअघि चलचित्र निर्माता पक्षले पत्रकार सम्मेलनको आयोजना गर्‍यो ।

जहाँ शोभित बस्नेतले अभिनेता भुवन केसीलाई महानायकको उपाधि दिए । नेपालको एक मात्र महानायक भन्दै भुवन केसीलाई सम्बोधन गरेको शोभितले पछि माफी नै माग्नुपर्ने अवस्था आयो । भुवनलाई महानायक भनेपछि यसअघिका महनायक भनिएका राजेश हमालका फ्यान रिसाए । यही बीचमा चलचित्रको ‘देउराली बनेछ डुंगाको’ गीत सार्वजनिक भयो । जुन गीतले सबैभन्दा बढी डिसलाइक पायो ।

महानायक विवाद चर्किने देखेपछि शोभितले कार्यक्रम राजेश हमालको तस्बिर नै राखेर माफी मागे । यति मात्र नभएर राजेश हमाललाई प्रत्यक्ष भेटेर गल्ती भएको भन्दै माफी मागे । महानायक विवाद पहिलोपटक भने भएको होइन् । यसअघि पनि पटकपटक यसरी महानायकबारे विवाद चलिरहेको थियो । जसले विवाद सिर्जना खोज्यो अन्ततः उसैले माफी माग्नुपर्ने अवस्था आएको थियो । 

पल शाहको हिरासत यात्रा

नेपाली चलचित्र क्षेत्रको अर्को दुखद् घटना हुन पुग्यो । चलचित्र क्षेत्रका उदीयमान अभिनेता पल शाह बलात्कार प्रकरणमा पक्राउ परे । नाबालिग गायिकाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र नवलपुरमा उजुरी दिइन् । जसले गर्दा उनी यतिबेला पुर्पक्षका लागि हिरासतमा छन् । 

यो विषयमा गायक दुर्गेश थापा, सरोज ओलीलगायतका कलाकार पनि विवादमा तानिए । पल शाह प्रकरणबाटै दुर्गेशलाई चलचित्रको दृश्यबाटै हटाइयो । १ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर-४’ बाट उनलाई हटाइएको थियो । 

यो वर्ष अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोतिर लागे । चलचित्र क्षेत्रमा स्टारडम कमाइसकेका अभिनेता अभिनेत्रीको म्युजिक भिडियो मोह राम्रै देखियो । म्युजिक भिडियो मात्र नभएर उनीहरूले टिकटकतिर पनि राम्रै उपस्थिति जनाउन पुगे । 

तिहारको अवसरमा पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शनमा आयो । तामझाम साथ प्रचारप्रसार गरियो । दर्शकहरू हलसम्म पुगे । पूजा शर्मा आफैं देशदौडाहमा लागिन् । पल शाह बलात्कार प्रकरणमा मुछिएपछि उनी पलको बचाउमा लागिन् । उनले पल शाहले बलात्कार गरेको नभई उनलाई फसाउन लागेको भन्दै रोइलो गर्दै हिँडिन् । जसले गर्दा उनको चर्चा पनि राम्रै भयो । 

करिश्माको राजनीतिक मोह 

सदावहार नायिकाकाे परिचय बनाएकी अभिनेत्री करिश्मा मानन्धरले यही वर्ष पार्टी परिवर्तन गरिन् । उनी एमाले प्रवेश गरेकी छन् । जुन विषय पनि चर्चामा रह्यो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट उनले आफ्नो राजनीतिक करिअर सुरू गरेकी थिइन् । बाबुराम पार्टी परिवर्तन गराउँदै जसपामा लागेपछि उनी निस्क्रिय जस्तै बनेकी थिइन् ।

लामो समय निस्क्रिय जस्तै बनेकी करिश्मा केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी हुन् । आफू पदको लोभले पार्टी प्रवेश नगरेको उनले बताएकी थिइन् । पार्टीले जस्तो खालको जिम्मेवारी दिए पनि निर्वाह गर्ने उनको भनाइ थियो । तर, यतिबेला उनी आफुलाई पद चाहियो भन्दै हिँडिरहेकी छन् । 

गीत संगीतको वर्ष 

यो वर्ष गीत संगीत क्षेत्रले भने राम्रै चर्चा पायो । कोरोना महामारीका कारण चलचित्र क्षेत्र  चलायमान हुन नसकिरहेका बेला गीत संगीतमा भने लाखौंको लगानी भित्रियो । केही कलाकारले राम्रै नाम र दाम पनि कमाए । जसमा गायक प्रकाश सपुत, महेश काफ्ले, प्रकाश दुतराज, गायिका समीक्षा अधिकारी, एलिना चौहान, अञ्जु पन्त, रचना रिमाललगायतका गायक गायिका चर्चामा रहे । 

प्रकाश सपुतको गीत ‘पीर’ ले खुबै चर्चा पायो । द्वन्द्वकालीन घटनामा आधारित भएर बनाइएको गीत राजनीति वृत्तबाट चर्चामा रहेको थियो । माओवादी नेता तथा कार्यकर्ताहरूले विरोध जनाएपछि उनले विवादित यौनकर्मीको दृश्य हटाउँदै पुनः भिडियो अपलोड गर्नुपरेकाे थियाे ।

यो वर्ष अभिनेत्री प्रिंयंका कार्की तथा ऋचा शर्मा आमा बने । प्रियंकाले छोरीलाई जन्म दिइन् भने ऋचाले छोरा पाइन् । चर्चित हास्य कलकार मनोज गजुरेलले दोस्रो बिहेसमेत गरे । 

जितु नेपालको मुन्द्रेको कमेडी क्लब बन्द हुन पुग्यो । उक्त शोका कलाकार उमेश राई उर्फ फुलन्देकी आमाले शो छोडेपछि उनी कार्यक्रम नै बन्द गर्न पुगेको थिए । फुलन्देकी आमा यतिबेला अर्को शो कमेडी विथ स्टारमा छिन् । 

यसरी २०७८ लाई फर्केर हेर्दा गीत संगीत क्षेत्रमा सन्तोषजनक प्रगति देखियो । चलचित्र क्षेत्रको हकमा भने करोडौं लगानी बालुवामा पानीसरह नै भयो । साउड इन्डियन चलचित्र ‘पुष्पा’ र ‘आरआरआर’ले नेपालबाट करोडौं पैसा कमाउन सफल भयो । १ वैशाखबाट प्रदर्शन आउन लागेको अर्को चलचित्र केजीएफ च्याप्टर-२ ले पनि आक्रामक व्यापार गर्ने देखिएको छ । 

नेपाली चलचित्रकर्मीहरू भने विदेशी चलचित्रलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठाउँदै आएका छन् । यतिसम्म कि उनीहरूले त चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र नै बुझाउन पुगे । आफ्नो कमीकमजोरी सुधार गर्दै दर्शकलाई हलसम्म तान्ने खालको चलचित्र बनाउनुको साटो उनीहरू विदेशी चलचित्रमाथि प्रतिबन्ध लगाउनुपर्ने माग अघि सारिरहेका हुन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्