धादिङ फुटबलमा पुनः दीपक खतिवडा

काठमाडौं,४ वैशाख ।
जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित हुनुभएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत जिल्ला फुटबल संघ धादिङको आइतबार धादिङमा भएको निर्वाचनमा अध्यक्ष पदका लागि खतिवडासँगै दिवससागर श्रेष्ठ र दिनेश रुपाखेतीले पनि उम्मेदवारी दिएका थिए । खतिवडा आठ भोटसहित निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले तीन मत पाउँदा रुपाखेतीको पक्षमा एक भोट पनि खसेन ।

यस्तै, उपाध्यक्ष पदमा राजन भण्डारीले सात मत, मनराज गोदारले आठ मत र सुरेश तामाङले १० मत पाउँदै निर्वाचित भएका छन् । उनीहरूको प्रतिस्पर्धी जनक भुजेल तीन र सुन्दर थापा चार मत ल्याएर पराजित भए । कार्यसमितिको महासचिवमा रामहरि थापा र कोषाध्यक्षमा राजेन्द्र सुवेदी छन् ।

बाँकी सदस्य सबै सर्वसम्मत निर्वाचित भए । सदस्यहरुमा दिनेश आचार्य, गोविन्द श्रेष्ठ, प्रकाशकुमार खरेल, पूर्णबहादुर गुरुङ, उत्तमप्रसाद सुवेदी, रमेश अधिकारी, गणेशमान श्रेष्ठ र ध्रुव थापा निर्वारोध चयन भए ।

खतिवडाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन भएको छ। यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुरलगायतका जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ ।

बारा जिल्लामा शनिबार हुने निर्वाचन विवादका कारण स्थगित भएको थियो । एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा हुने तय भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्