आ–आफ्नै दाबी गर्दा सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति

काठमाडौं, ४ चैत 

सत्ता गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सकेनन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा सिट बाँडफाँटबारे सहमति जुट्न नसकेको हो । बैठकमा पाँचै दलले आ–आफ्नो दाबी प्रस्तुत गरेपछि सहमति जुट्न नसकेको हो । 

समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीले आजको बैठकमा रिपोर्टिङ गर्ने काम भएको बताए । ‘केही ठाउँको रिपोर्टिङ गर्न बाँकी थियो । आजको बैठकमा त्यो भयो । अब भोलि बसेर सिटको बाँडफाँटबारे निर्णय गर्छौ ।’ उनले भने । 

बैठकमा समिति संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महानगरपालिका र उप–महानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँटबारे सदस्यहरूको धारणा मागेका थिए । बैठक सबै पार्टीका तर्फबाट आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए । 

‘सबै दलको तर्फबाट आ–आफ्नो दाबी प्रस्तुत भएको छ । यसबारे थप गृहकार्य गरेर भोलि निर्णय गर्छौ । संयोजक ज्यूले बैठकबारे खबर गर्छु भन्नुभएको छ ।’ पुरीले भने । 
बैठकमा सहमति जुट्न नसकेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बिचैमा हिँडेका थिए । आजको बैठकमा प्रतिवेदनका विषयमा सामान्य छलफल भएको थियो । ठोस निष्कर्ष निस्किन नसको कार्कीले बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनबीचको तालमेललाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा सदस्यहरूबीच छलफल भएको थियो । माओवादी केन्द्रले भरतपुर महानगरसँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उप–महानगरपालिकामा दाबी गरेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप–महानगरपालिमा आ–आफ्नै अडान कायम राखेका छन् । 

आ–आफ्नै अडान कायम राखे पनि बैठकमा दाबी प्रस्तुत गर्नुको आधार र जित्न सकिने अवस्थाका विषयमा अध्ययन गरेर समितिले निर्णय गर्ने पुरीको भनाई छ । 

पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका थिए । सोही आधारमा महानगरपालिका र उप–महानगरपालिकाको सिट बाँडफाँटबारे निर्णय गर्न पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । 

त्यस्तै प्रदेश, जिल्ला र स्थानीय तहको तालमेलबारे निर्णय गर्न समेत गठबन्धन दलका नेता सम्मिलित संयन्त्र बनेका छन् । केन्द्रीय संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे केन्द्रमा प्रतिवेदन पेस गर्न प्रदेश संयन्त्रहरूलाई निर्देशन दिएको थियो । शनिवारसम्म केन्द्रमा प्रतिवेदन बुझाउनुपर्ने भनिएको थियो । तर, कतिपय प्रदेशबाट ढिलागरी प्रतिवेदन पेस भएको थियो । जसले गर्दा कार्यदलले निर्णय गर्नमा ढिलाइ भएको हो । 

केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय गरे पनि कतिपय क्षेत्रमा भने तालमेलको विपक्षमा उभिएका छन् । उनीहरूले एक्लाएक्लै चुनाव लड्ने भन्दै उम्मेदवार सिफारिस गर्दै आएका छन् । 

पाँच दलीय गठबन्धनको आज बसेको बैठकले कार्यदललाई भोलिसम्ममा प्रतिवेदन पेस गर्न भनेको छ । कार्यले प्रतिवेदन पेस गरेपछि मात्रै सिट बाँडफाँटबारे निर्णय गर्ने कांग्रेस नेता समेत रहेका सरकारका प्रवक्ता कार्कीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्