गठबन्धनलाई संयुक्त चुनावी सभा गर्नै मुस्किल

काठमाडौं, ५ वैशाख।

पाँच दलीय गठबन्धनले मनोनयन दर्ता गर्न ६ दिन बाँकी छँदा पनि संयुक्त चुनावी सभा गर्नै सकेको छैन । संयुक्त अपिल भने २९ चैत २०७८ मा जारी गरेको थियो । तर, अहिलेसम्म गठबन्धन दलहरूको संयुक्त चुनावी गर्ने सुरसार नै छैन ।

मतदातालाई प्रभावित पार्न चुनावी सभा अनिवार्य मानिन्छ । ठाउँठाउँमा चुनावी सभा गरिँदा मतदाता प्रभावित हुन्छन् । अर्कोतिर चुनावी माहोल सिर्जना हुन्छ । 

तालमेलको व्यावहारिक निर्णय गर्न बाँकी रहेकाले गठबन्धन दलहरूले संयुक्त चुनावी सभा गर्न नसकेको नेकपा (एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले बताएका छन् । उनले तालमेलबारे नीतिगत निर्णय मात्र भएको बताए ।व्यावहारिक निर्णयपछि भने संयुक्त चुनावी सभा गरेर जनताकहाँ पुगिने उनको भनाइ छ । 

१७ चैतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जानेगरी सहमति गरेका थिए । तालमेलको प्रक्रिया अघि बढाउन भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठनसमेत भएको छ । 

समितिको बैठक पटकपटक बैठक बसिसकेको छ । गठबन्धनका शीर्ष नेताहरूको बैठक पनि नसकेको होइन । तर, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँगै वडापालिकासम्म तालमेलको टुं‍गाे गर्न नसक्दा संयुक्त चुनावी गर्न गठबन्धन असक्षम भएको हो । 

अर्कोतिर, गठबन्धन दलहरूबीच चुनावी तालमेल पेचिलो बन्दै गएको छ । मधेस प्रदेशमा तालमेलको सम्भावना कम हुँदै गएको माओवादी केन्द्रका मधेस इन्चार्ज गणेश साहले बताएका छन् ।

प्रदेश १ मा पनि उस्तै छ । धनकुटा र उदयपुरबाहेकमा तालमेल हुने सम्भावना कम हुँदै गएको छ । त्यहाँका कांग्रेस महामन्त्री भूपेन्द्र राईले सांगठनिक हैसियतभन्दा बढी स्थानी तहमा दाबी गठबन्धनका अन्य दलहरूले दाबी गर्दा समस्या पैदा भएको बताएका छन् ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन दलहरूबीच तालमेलको विषयलाई लिएर मतभेद चुलिँदो छ । ठाउँठाउँमा गठबन्धन दलहरूबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । 

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले तालमेलको प्राविधिक विषयमा सहमति हुन बाँकी छँदा कतै कतै समस्या देखिएको र गठबन्धन दलहरूले तालमेल टुंग्याएर छिट्टै संयुक्त चुनावी सभा गर्ने बताए । निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता ११ र १२ वैशाखमा हुने भएको छ । ३० वैशाखमा भने मतदान नै हुने छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्