मुगुमा एमाले पर्ख र हेरमा, गठबन्धनभित्रका दलका आ-आफ्नै अडान

मुगु, ५ वैशाख । 

देशका अन्य जिल्लामा जस्तै मुगुमा पनि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट र चुनावी रणनीतिमा दलहरू लागेका छन् । यहाँ नेकपा एमाले एक्लै निर्वाचनमा जाने तयारीमा भए पनि उसले उम्मेदवार चयनमा पर्ख र हेरकाे नीति लिएकाे छ । 

अर्काेतिर नेपाली कांग्रेससहित पाँच दलको गठबन्धन भने आ-आफ्नै दाबी र अडानमा छन् । जसका कारण उम्मेदवार चयन गर्न सकिरहेकाे छैन । 

स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त छन् । तर, अझै टंगोमा पुग्न सकेको छैनन् । 

गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छाँयानाथ रारा नगरपालिकामा उपध्यक्ष दाबी गरेकाे नेपाली कांग्रेस मुगुका पार्टी प्रवत्ता प्रकाश शाहीले बताए ।

यही कारण कुरा नमिलेकाे उनकाे भनाइ छ । उनका अनुसार जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकामा नेपाली कांग्रेसले प्रमुख पाउनु पर्ने प्रवत्ता शाहीको भनाइ छ ।  

नेकपा एकीकृत समाजवादी मुगुका अध्यक्ष धरमबहादुर शाहीका अनुसार केन्द्रीय सर्कुलरअनुसार सात बुँदे सहमति समाजवादी पार्टीको हितको लागि बनाएको हाे । यही अनुसार नेपाली कांग्रेस पहिलो पार्टी, नेकपा माओवादी केन्द्र दोस्राे र समाजवादी तेस्राे स्थानमा हुनुपर्छ । 

नेकपा एमालेबाट छुट्टिएर आई सकेपछि मुगुका चार वटा स्थानीय तहमध्ये दुईमा कांग्रेस, एकमा माओवादी र एकमा समाजवादीको प्रमुखमा हाम्राे दावी रहन्छ ।   

नेकपा माओवादी केन्द्र मुगुका सूचना संचार विभागका संयोजक देविकृष्ण रोकायाका अनुसार माओवादी केन्द्र गठबन्धनको पक्षमा रहेको र सोहीअनुसार अगाडि बढेको छ ।

अन्तिमसम्म गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै यदि गठबन्धन नभए मित्रवत रुपमा चुनावी प्रतिस्पर्धा गर्ने उनी बताउँछन् ।

नेपाली कांग्रेस मुगुका अनुसार सकेसम्म तालमेल गरेरै जाने हो यदि उनीहरूले तालमेलमा रस्साकस्सी गरे भने अन्तिममा एक्लाएक्लै चुनाव लड्नुनकाे विकल्प छैन । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्