स्थानीयको अवरोधसँगै रोकिएको नागढुंगा सुरुङको काम सुचारु

धादिङ,०६ बैशाख ।
स्थानीयको अवरोधपछि निर्माण ठप्प भएको एकसाता पछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पुन ःसुचारू भएको छ। सुरुङका कारण खानेपानीका मुहान सुकेको भन्दै चन्द्रागिरि नगरपालिका २ का स्थानीयले निर्माण कम्पनी र परामर्शदाताको कार्यालयमा तोडफोड गरेपछि गत चैत २८ गतेदेखि रोकिएको काम सोमबारदेखि सुरू भएको हो ।

आइतबार आयोजना र वडा नम्बर २ का स्थानीयबीच भएको छलफलमा निर्माण सुरु गर्ने सहमति जुटेसँगै काम ठप्प भएको एक सातापछि नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण पुनः सुरु गरिएको हो ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यका अनुसार स्थानीयलाई आवश्यक पानी नगरपालिकाको रोहवरमा ट्यांकरमार्फत दिने सहमति भएपछि निर्माण अघि बढाउने सहमति भएको हो ।

पहिला आयोजनाले १ नम्बर वडामा ३ र २ नम्बर वडामा ५ ट्यांकर पानी दिइरहेको थियो । दीर्घकालीन रूपमा समस्या समाधान गर्न बोरिङ बनाएर पानीको व्यवस्थापन गर्ने सहमति भएको शाक्यले बताउनुभयो। यसैगरी सिँचाइका लागि सुरुङबाट निस्किएको पानीलाई लिफ्टिङ गरेर ल्याउनेबारे सम्भाव्यता अध्ययन गरिने भन्दै शाक्यले यसका लागि १ हजार फिट लिफ्ट गर्नुपर्ने भएकाले चाहिएको खण्डमा मात्र गर्ने सहमति भएको बताउनुभयो ।

आजसम्म आयोजनाको काम रोकिँदा ५० मिटर सुरूङ खन्ने काम रोकिएको छ । यसअघि, आयोजनाले दैनिक १० मिटर सुरूङ खनिरहेको थियो । यससँगै, आयोजनाले दैनिक १ करोड ५० लाख रुपैयाँ बराबरको काम अघि बढाइरहेकामा ५ दिनसम्म ठप्प भएको थियो । यसबापत, आयोजनाले दैनिक काम नै रोकिएको बताइएको छ । आयोजनाको काममा चन्द्रागिरी नगरपालिका, वडा नम्बर २ का स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेका थिए ।

सिस्ने खोलादेखि दहचोकसम्म सुरूङको कूल लम्बाई २ दशमलव ६८८ किलोमिटर र ९.५ मिटर चौडाई र १८ मिटर उचाई हुन्छ । यसमध्ये हालसम्म मूख्य र सहायक गरी कूल २८ सय किलोमिटर सुरूङ खनिसकेको आयोजनाले जानकारी दिएको छ । यो सुरूङतर्फ ४८ प्रतिशत कार्यप्रगति हो । यसैगरी, आयोजनाको सम्पूर्ण कार्यप्रगति ३६ प्रतिशत सकिएको प्रमुख शाक्यले बताउनुभयो । स्थानीयको अवरोध हटेसँगै कामदारहरू फर्कने क्रममा रहेको र अबको एक/दुई दिनभित्र आयोजनामा आइसक्ने बताइएको छ ।

०७७ पुसदेखि औपचारिक निर्माण थालिएको आयोजनामा २६ जनाको उच्च व्यवस्थापन नेतृत्वमा जापानिज रहेका छन् भने करिब ५० जना नेपाली इन्जिनियर संलग्न छन् । कुल कामदार संख्या ६ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना अप्रिल २०२३ मा सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्