एसईई परीक्षा भोलिदेखी : धादिङमा ६ हजार २२४ परीक्षार्थी सहभागी हुँदै

धादिङ, ०८ बैशाख ।  

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा भोलि शुक्रबारदेखी शुरु हुदैँ छ । एसईई परीक्षामा देशभर ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी हुने भएका छन् । 

परीक्षामा धादिङ जिल्लाबाट १ सय ५५ वटा माध्यमिक विद्यालयका ६ हजार २२४ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ धादिङका कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार धादिङमा २३ जना ग्रेडबृद्धितर्फ, खुल्ला विद्यालय अन्तगत अन्तरगत ३९ जना र प्राविधिक तर्फ २ सय ९ परीक्षार्थी सहभागी हुँदैछन् । सबैभन्दा धेरै नीलकण्ठ माविका २२२ जना र सबै कम जगदम्बा बोर्डिङ स्कुल गजुरीका ५ जना विद्यार्थीहरु यो एसईई परिक्षामा सहभागि हुँदैछन् ।

यसवर्ष परीक्षाका लागि धादिङमा २६ वटा परीक्षा केन्द्र तोकिएको छ। देशभर नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितफ ११ हजार ४ सय ५४ गरि कुल ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी हुने एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो । 

शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । 

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्री ७७ वटै जिल्लामा पठाइसकेको उहाँले जानकारी दिनुभयो । 

परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

तस्विर नलाङ मावि, सिद्धलेक–१ चरिमारे

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्