आजबाट एसईई परीक्षा : धादिङमा ६ हजार २२४ परीक्षार्थी

धादिङ,०९ बैशाख ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।

पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

परीक्षामा धादिङ जिल्लाबाट १ सय ५५ वटा माध्यमिक विद्यालयका ६ हजार २२४ जना परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाइ धादिङका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार धादिङमा २३ जना ग्रेडबृद्धितर्फ, खुल्ला विद्यालय अन्तगत अन्तरगत ३९ जना र प्राविधिक तर्फ २ सय ९ परीक्षार्थी सहभागी भएका छन् । सबैभन्दा धेरै नीलकण्ठ माविका २२२ जना र सबै कम जगदम्बा बोर्डिङ स्कुल गजुरीका ५ जना विद्यार्थीहरु यो एसईई परिक्षामा सहभागि छन् । यसवर्ष परीक्षाका लागि धादिङमा २६ वटा परीक्षा केन्द्र तोकिएको छ।

देशभर नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितफ ११ हजार ४ सय ५४ गरि कुल ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी भएको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गरिएको छ ।

परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्