धादिङको १२ पालिकामा गठबन्धनको भागबण्डा मिल्यो:सबैधन्दा धेरै कांग्रेसलाई,जसपा गठबन्धनबाट अलग

धादिङ,११ बैशाख ।
सत्तारुढ गठबन्धनले धादिङका स्थानीय तहको भागबन्डा टुंग्याएको छ । गठबन्धनले आईतबार धादिङका स्थानीय तहका प्रमुख र उपप्रमुखमा भागबन्डा टुंग्याएको हो ।

१३ वटा स्थानीय तहमध्ये थाक्रे गाउँपालिकामा भने गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुंग्याउनेसहमति भएको छ । बाँकी १२ स्थानीय तहमा भागबन्डा टुंग्याइएको हो ।

जिल्लामा नेपाली काग्रेसले ७ वटा प्रमुख र ४ वटा उपप्रमुख, नेकपा माओवादी केन्द्रले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख र एकिकृत समाजबादीले २ वटा प्रमुख र ४ वटा उपप्रमुखमा भागबन्डा गरि तालमेलको लागी निर्णय गरेका हुन् ।

सहमती पत्रमा नेपाली काग्रेसको तर्फ बाट बागमती प्रदेश सभापति ईन्द्र बानिया, माओबादीबाट बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र नेकपा एकिकृत समाजबादी बाट बागमती प्रदेशका इन्चार्ज केदार प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

जिल्लामा करिब एक साता अघिदेखि लामो छलफल र चर्को रस्साकस्सीपछि पनि गठबन्धन दलका नेताहरुबीच भागवण्डाको विषयमा सहमति जुट्न नसकेपछि जिल्लाको नेतृत्वमा रहेका गठबन्धनका नेताहरु प्रदेश कमिटीलाई गुहार्न पुगेका थिए । प्रदेशस्तरीय नेतासहितको छलफलबाट १२ वटा स्थानीय तहमा भागवण्डामा मिलेको बताईएको छ ।

भागवण्डामा निलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओबादी केन्द्रको उम्मेदवार रहने भएको छ । धुनिबेसी नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेस, खनियाबासको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, सिद्धलेकको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार रहने छन् ।

त्यसैगरी रुवीभ्यालीको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस, गंगाजमुनाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी, गल्छीको अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस, गजुरीको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसको उम्मेदवार रहने छन् ।

त्यस्तै ज्वालामुखीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एकीकृत समाजवादी, त्रिपुरासुन्दरीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, नेत्रावती डवजोङको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र र बेनिघाट रोराङको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार रहने छन् । जिल्लाको थाक्रे गाउँपालिकामा भने पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुङ्ग्याउने सहमती भएको छ ।

यसअघिको निर्वाचनमा कांग्रेसले नीलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँपालिका र खनियावास गाउँपालिकाको प्रमुख जितेको थियो भने माओवादी केन्द्रले वेनिघाट रोराङ गाउँपालिकाको प्रमुख जितेको थियो ।

धादिङमा सत्तारुढ तीनदलीय गठबन्धनमा भागबण्डाको विषयलाइ लिएर स्थानीय नेता–कार्यकर्ता असन्तुष्ट भएका छन् । स्थानीय अवस्थाको अध्ययन नै नगरी जिल्लाका स्थानिय तहमा गठबन्धन गरिएको भन्दै स्थानीय नेता–कार्यकर्ता असन्तुष्ट बनेका हुन् । असन्तुष्ट नेता कार्यकर्ताहरुले नेतृत्वलाई दवाव दिन जिल्ला पार्टी कार्यालयमा ताला समेत लगाएका छन् ।

यसैगरी सत्तारुढ गठबन्धनमै रहेको अर्को दल जनता समाजवादी पार्टीको धादिङमा कमजोर संगठन रहेको भन्दै पालिका प्रमुख र उपप्रमुखको भागबण्डाबाट अलग गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्