खेलाडी संघमा विक्रम लामा सर्वसम्मत

काठमाडौं, ११ वैशाख। 

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत रहेको खेलाडी संघमा विक्रम लामा सर्वसम्मत चयन भएका छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य लामालाई सर्वसम्मतबाट अध्यक्ष चुनिएपछि प्रमाणपत्र हस्तान्तरण गरे ।

यस्तै, विकेश कुथु, सुजल श्रेष्ठ, विराज महर्जन उपाध्यक्षमा सर्वसम्मत भएका छन् । यता सदस्यमा रन्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दहाल, रोहिच चन्द र विशाल श्रेष्ठ सर्वसम्मत चुनिए ।

११ सदस्यीय कार्यसमितिमा भने महिला खेलाडीको नाम अटाएको छैन । महिला खेलाडीले उम्मेदवारी दर्ता नगराएकाले मनोनीतबाट तानिने नवनिर्वाचित अध्यक्ष लामाले बताए ।

अध्यक्षमा सर्वसम्मत चुनिएका लामाले खेलाडीको हकहितका लागि काम गर्ने बताएका छन् ।

यसअघि प्रशिक्षक संघमा सर्वसम्मतबाट राजेन्द्र तामाङ आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्