धादिङका ३ सहित देशभर ३५३ उम्मेदवार निर्विरोध निर्वाचित,कुन दलका कति ?

धादिङ,२० बैशाख ।
स्थानीय तह निर्वाचनमा हालसम्म धादिङका ३ जना सहित ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो ।

धादिङमा निर्विरोध निर्वाचित हुनेहरुमा खनियाबास गाउँपालिका वडा नं ४ मा दलित महिला सदस्य नेपाली काँग्रेसकी उम्मेदवार विमला नेपाली, गंगाजमुना गाउँपालिका वडा नं ४ को महिला सदस्य नेकपा एमालेकी उम्मेदवार रत्न माया घले र रुवी भ्याली गाउँपालिका वडा नं १ मा दलित महिला सदस्य नेपाली काँग्रेसकी उम्मेदवार रस माया कामी हुनुहुन्छ ।

स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा दलित महिला सदस्य र महिला पदमा १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।

हालसम्म देशभर ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने प्रस्ट्याउनुभयो ।

निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् । गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा (माओवादी केन्द्र)का ५४, नेकपा (एकीकृत समाजवादी)का ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। एमालेका १२३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्