गायत्री खतिवडा
नेत्रावती डबजोङ,२० बैशाख ।
जसरी अध्याँरो रातमा चम्कदै गरेको चन्द्रमाले धर्तिमा मिठो उज्यालो र शितलता छर्छ त्यसैगरि बिना कुमारी मम्पा राजनीति मार्फत समाजमा विकास र समृद्धिको उज्यालो छर्ने अभियानमा हुनुहुन्छ ।चट्टान फोरेर उम्रिएको पिपल जस्तै हुनुहुन्छ बिना कुमारी मम्पा । देशमा पञ्चायति व्यवस्थाको जगजगी थियो। गाउँमा कांग्रेस र राप्रपाको गढ थियो । कांग्रेस र राप्रपाको गढ भएको ठाउँमा कसैले “म कम्युनिष्ट हुँ ” भन्यो भने बाँच्न मुस्किल हुन्थ्यो । उस्तै परे रातरात मान्छे काटिन्थ्यो । गाउँमा एक दुइ घर मात्रै कम्युनिष्ट थिए ।
तामाङ समुदायको जातिय एकता चट्टान जत्तिकै बलियो थियो । एक घरले कता जाने, के गर्ने भन्छ ? अरु सवै उतै लाग्ने । यस्तो वातावरणको वीचमा बिना कुमारी मम्पाको परिवार“कम्युनिष्ट हौं ”भनेर अडिग रहन निकै गा¥हो थियो । विगतलाई सम्झदै बिना भन्नुहुन्छ “मेरो बुबा अवकाश प्राप्त भारतिय सैनिक हुनुहुन्थ्यो । उहाँले भारतिय सेनामा काम गर्दा पश्चिम बंगालमा कम्युनिष्ट शासन रहेछ । त्यहाँको शासन व्यवस्था मन परेर बुबा पनि कम्युनिष्ट हुनुभएको रहेछ ।”
भारतिय सेनामा कार्यरत बुबा घर आउँदा आफ्ना छोराछोरीलाई कम्युनिष्ट र कांग्रेस वीचको फरक बताउनुहुन्थ्यो । आफ्ना छोराछोरीलाई कम्युनिष्ट बन्न प्रेरित गनुहुन्थ्यो । बुबाको त्यही प्रेरणाले बिना पनि कम्युनिष्ट बन्नुभयो । गाउँका कांग्रेसीहरुले कम्युनिष्ट शासन आएमा बोल्न दिदैन, हिड्न दिदैन र ६० वर्ष पुगेपछि सवैलाई मार्छ भन्थे । कसैले आफ्नो सम्पत्ति राख्न पाउँदैन, धर्म मान्दैन भन्दै गाउँमा गलत कुरा फैलाउँथे। यस्तो देख्दा उहाँलाई विद्रोह गर्न मन लाग्थ्यो ।
चौतारा मा वि सेमजोङमा पढ्दा कांग्रेसको विद्यार्थी संगठन भएको आफ्नो चै नभएको देखेर उहाँले अनेरास्ववियू गठन गर्ने हिम्मत गर्नुभयो । मुस्किलले ५÷७ जना साथीहरु जम्मा भएर अनेरास्ववियू गठन भयो । बिना कुमारी २०५१ सालमा चौतारा मा वि मा गठित अनेरास्ववियूको प्रा. क. कमिटिको अध्यक्ष हुनुभयो । संगठनको काममा दिउँसो जान मिल्दैनथ्यो । घरमा बुबा आमाले सहयोग गर्नुभएको भए पनि गाउँलेले थाहा पाए मार्ने डर हुन्थ्यो । त्यसैले सवै भेला बैठकमा राती राती नै हिड्नु भयो ।
बिनाको घर “कम्युनिष्ट” भन्ने थाहा पाए पछि गाउँलेहरुले अनेक दुःख दिन थाले । कहिले पानीको पाइप काटिदिने, कहिले उनी हिड्ने बाटो छेक्ने, आमा बुबालाई धम्की दिने गर्न गर्थे । तर उहाँ हिड्न छोड्नुभएन । २०५२ सालमा अनेरास्ववियूको जिल्ला कमिटिको सदस्य हुनुभयो । राजनीति संगै पढाइलाई पनि निरन्तरता दिनुभयो । आमा स्वास्थ्य स्वयं सेविका हुनुहुन्थ्यो । २०४८ सालबाट आमाले महिला समुह गठन गरि मासिक बचत उठाउने र बचत ऋणको कारोबार गर्ने काम शुरु गर्नुभयो । बिनाले आमाको कामलाई पनि सहयोग गर्नुभयो । त्यही महिला समुहले पछि सहकारी स्थापना ग¥यो ।
नेकपा एमालेको क्षेत्र न .२ को क्षेत्रिय कमिटिको सदस्य हुँदै हाल जिल्ला कमिटीको सदस्य हुनुहुन्छ । राजनीति संगै तामाङ जातजातिको संरक्षण र विकासको लागि पनि काम गर्नुभयो । लोकतान्त्रीक तामाङ संघको केन्द्रिय सदस्य हुँदै हाल लोकतान्त्रिक आदिवासि जनजाति महासंघको केन्द्रिय सचिवालय सदस्य हुनुहुन्छ ।
समाजको लैगिंक असमानता, विभेद र अराजनीतिक संस्कार लाई चिर्दै अगाडी बढनुभएको बिना बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेत्रावती डबजोङ गाउँपालिका बाट गाउँपालिको उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । ग्रामिण विकासमा स्नातक गर्नुभएकी बिना कुमारी मम्पा संग “एक घर एक उद्यम,एक घर एक रोजगार ,एक घर एक घारा,एक घर एक शैचालय,नीरोगी नेत्रावती” बनाउने योजना छ ।
छोरी बुहारीका लागि रोजगार, शुशासनको विधि, सुचना प्रविधि, अपाङ्गता तथा फरक क्षमतालाइ सम्मान, वित्तिय साक्षरता सहित जनताको आर्थिक समृद्धि गर्ने योजना रहेको छ । पर्यटन, जडिबुटी एवं स्थानीय स्रोतमा आधारित उद्योग तथा व्यवसायको सिर्जना र विकास गर्ने र जेहेन्दार गरीव छात्रछात्रालाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रबृतिको व्यवस्था गर्ने लगाायतको एजेण्डा रहेको छ ।