चुनावमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको ज्यान गएमा परिवारलाई २० लाख रुपैयाँ सहयोग

काठमाण्डाै,२५ बैशाख । 

सरकारले पालिका चुनावका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको ज्यान गएमा मृतकका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चुनाव अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको ज्यान गएमा मृतकका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  

यस सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीको हकमा लागू हुनेछ । त्यस्तै बैठकले चुनावकाे क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले बेहाेर्ने निर्णय भएको गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक मधुसूदन भट्टराईले जानकारी दिनुभयो ।

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीका लागि प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको उहाँको भनाइ थियोे । –रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्