युगान्डाविरुद्धको तेस्रो खेलमा जित्नै पर्ने दवावमा नेपाल

काठमाडौं, ५ जेठ ।

युगान्डाविरुद्धको तेस्रो टी २० खेलका लागि बिहीबार मैदान उत्रदा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली जितसहित शृंखलामा पुनरागमनको सम्भावना कायम राख्न चाहन्छ ।

खेल दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि सोमबार र मंगलबार सम्पन्न पहिलो तथा दोस्रो खेलमा नेपालले युगान्डालाई क्रमशः १२ रन र एक विकेटको नतिजा सुम्पिएको थियो । 

पाँच खेलको शृंखलामा युगान्डा २-० ले अघि छ । आजको खेलमा पनि नतिजा सुम्पिएमा नेपालले दुई खेल अगावै शृंखला गुमाउने छ । 

नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी- २० ट्वान्टी शृंखला खेलेको हो ।

पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शका बाबजुद ब्याटिङमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल युगान्डालाई नतिजा सुम्पिन बाध्य भएको थियो । 

जितका लागि एक सय तीन रनको लक्ष्य पछ्याएको नेपाल  मात्र ९२ रनमा सीमित भएको थियो ।

दोस्रो खेलमा नेपालले युगान्डालाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा पनि ब्याटिङमा सोचेअनुरुपको प्रदर्शन हुन सकेको थिएन। 

अन्तिम केही ओभरमा लगातार युगान्डाको विकेट लिँदै जित नजिक पुगे पनि खराब फिल्डिङका कारण नेपाल निराश बनेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्