२०७४ को तुलनामा २०७९ मा काठमाडौं महानगरपालिकामा बदर मत बढ्यो

काठमाडौं, १३ जेठ ।

अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा काठमाडौं महानगरपालिकामा बदर मतको संख्या बढेको छ । 

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा १६ प्रतिशत बदर भएको छ । 

काठमाडौं महानगरमा यसपटक १ लाख ९० हजार ९६२ मत खसेको थियो । खसेकोमध्ये १ लाख ५९ हजार ९०६ मत सदर र ३१ हजार ५६ मत बदर भएको छ । खसेको मतमा ८४ प्रतिशत सदर र १६ प्रतिशत बदर भएको छ । 

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २२७ मत खसेको थियो । 

खसेको मतमध्ये १ लाख ६७ हजार २८६ मत सदर र २९ हजार ९४१ मत बदर भएको थियो । खसेको मतमा ८४.८ प्रतिशत मत सदर भएको थियो भने १५.२ मत बदर भएको थियो । 

यसपटकको निर्वाचनमा प्रतिशतको हिसाबले सबैभन्दा बढी बदर मत काठमाडौं महानगरपालिकाको वडा नं. १५ डल्लुमा खसेको छ । त्यहाँ खसेको मतमध्ये २४ प्रतिशत बदर भएको थियो । वडा नं. १५ मा ८ हजार ७२० मत खसेकोमा २ हजार ९९ मत बदर भएको थियो । 

काठमाडौं महानगरपालिकामा सबैभन्दा कम मत बदर वडा नं.५ हाँडिगाउँमा खसेको थियो । यहाँ खसेकोमध्ये ११ प्रतिशत मत बदर भएको थियो । वडा नं.५ मा कुल ४ हजार ७९ मत खसेकोमा ४५३ मत बदर भएको आयोगले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्