धादिङका आठजना सहित देशभर ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

धादिङ,१४ जेठ ।
स्थानीय तहको निर्वाचनमा हालसम्म धादिङका ८ सहित देशभर ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । धादिङमा पनि स्वतन्त्र उम्मेदवार चार वडा अध्यक्ष र चार जना सदस्य निर्वाचित भएका छन् । जसमध्ये नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार प्रकाश श्रेष्ठको प्यानल निर्वाचित भएका थिए ।

जम्मा खसेको २ हजार २८८ मतमा श्रेष्ठले मात्रै ११ सय ५३ मत ल्याएका थिए । श्रेष्ठको प्यानलबाट वडा सदस्यहरुमा दुर्गा अधिकारी,विमला बराइली, उमेश मगर र छविप्रसाद काप्री निर्वाचित भएका छन् ।

त्यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्बरमा ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ, ज्वालामुखी गाउँपालिका वडा नं ४ मा कृष्ण गुरुङ र धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा पनि स्वतन्त्रबाट विशाल भट्टराई निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये देशभर नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिका सहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । काठमाडौंमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको हो ।

स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित हुनुभएको हो । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित निर्वाचित भएका छन् । तीमध्ये १३३ पुरुष र तीन महिला हुनुहुन्छ । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्