आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल सम्पन्न

काठमाडौँ, १५ जेठ ।

सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा २६५ किमी सडकखण्ड ग्राभेल भएको छ भने ९५ किमी मर्मत भएको छ ।

हालसम्म १६ हजार ९३९ किमी कालोपत्र सडक र आठ हजार  ८२१ किमी कच्ची गरी सडकको लम्बाइ ३३ हजार ८७१ किमी पुगेको छ । गत असारसम्ममा १६ हजार ६१४ किमी कालोपत्र, आठ हजार ७१ किमी खण्डस्थित र आठ हजार ९३१ किमी कच्ची सडक थियो ।

गत आवमा नै ४७२ किमी नयाँ माटे सडक निर्माण भएको उल्लेख छ । यो अवधिमा ७३९ किमी सडक ग्राभेल र एक हजार १९० किमी सडक कालोपत्रमा स्तरोन्नति भएको थियो । गत आवमा नै सात हजार १८७ किमी सडक नियमित र पटके मर्मत र ४२४ किमी आवद्यिक मर्मत भएको थियो । गत आवमा १९२ पुल सम्पन्न भएको थियो ।

फागुनसम्ममा नै प्रादेशिक र स्थानीयस्तरका कच्ची, ग्राभेल र कालोपत्र गरी ९२१ किमी सडक निर्माण भएर जम्मा ६४ हजार ६१७ किमी सडक निर्माण भएको छ । गत असारसम्ममा कूल प्रादेशिक र स्थानीय सडकको लम्बाइ ६३ हजार ६९६ किमी रहेको थियो ।

निर्मित सडकमध्ये कालोपत्रको अङ्स सात प्रतिशत, गाभ्रेलको २१ प्रतिशत र कच्ची सडकको ७२ प्रतिशत रहेको छ । निर्माण भएका कच्ची सडकको क्रमिकरुपमा स्तरोन्नति गर्नुपर्ने र विद्यमान सडक चौडा गर्नुपर्ने सर्वेक्षणमा बताइएको छ ।

गत फागुनसम्म कूल सडकमध्ये हिमाली क्षेत्रमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत रहेको थियो । राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्ग ४४ किमी थपिएर एक हजार १५७ किमी पुगेको छ । यहाँका १२९ पुलमध्ये हालसम्म ९२ पुल निर्माण सम्पन्न भएका छन् ।

हुलाकी राजमार्गमा यो अवधिमा ८१ किमी सडक र पाँच पुल निर्माण भएको थियो । उत्तर–दक्षिण करिडोरमध्ये कालीगण्डकी करिडोरमा यो वर्ष गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ६४ किमी कालोपत्र भएको थियो । मालढुङ्गा–बेनी जोमसोम कोरला १३२ किमी ग्राभेल र २५ किमी कालोपत्र भएको थियो ।

कर्णाली करिडोरमा यो वर्ष सिमकोट–सरीसल्ला तीन किमी ट्र्याक थप भएर २६१ किमी ट्र्याक निर्माण भएको छ । कोसी करिडोरमा यो वर्ष थप चार किमी ग्राभेल थपिएर ग्राभेल सडकको लम्बाइ ७२ किमी पुगेको छ ।

मदन भण्डारी राजमार्गमा गत फागुनसम्ममा थप चार किमीमा कालोपत्र भएर कालोपत्र सडक २४१ किमी पुगेको । जम्मा १८५ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ७७ पुल सम्पन्न भएको छ ।

प्रमुख व्यापारिक सडकमध्ये रानी–विराटनगर–इटहरी–धरान खण्डमा दुई किमी, जटही–जनकपुर–ढल्केबर खण्डमा एक दशमलव दुई किमी, वीरगञ्ज–पथलैया दुई दशमलव दुई किमी र मोहना–अत्तरिया खण्डमा ५०० मिटर कालोपत्र सम्पन्न भएको छ ।

स्थानीय पूर्वाधारअन्तर्गत गत फागुनसम्ममा नै २१५ झोलुङ्गे पुल र चार सडक पुल निर्माण भएको छ । हाल झोलुङ्गे पुलको सङ्ख्या नौ हजार ३८८ र सडक पुलको ६२७ पुगेको छ । पहिचान भएका १४३ तुइनमध्ये १३४ तुइन झोलुङ्गे पुलद्वारा विस्थापित गरिएको जनाइएको छ ।

सत्र हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान

यातायाततर्फ, सवारीसाधनमा चालू आवमा १७ हजार १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । हालसम्म एक लाख ३५ हजार ३४१ इम्बोस्ड नम्बर प्लेट उत्पादन भएर आठ हजार ३६७ सवारीसाधनमा जडान गरिएको छ ।

चालू आवमा दुई लाख ४६ हजार ६५२ सवारी चालक अनुमतिपत्र वितरण भएको छ । सार्वजनिक यातायातमा जिपिएस भेइकल ट्रयाकिङ प्रणाली लागू गर्न ३५ सार्वजनिक सवारीसाधनमा जडान गरिएको छ ।

५६ किमी रेलमार्ग सम्पन्न, रेल सञ्चालन सुरु

रेल यातायातमा जयनगर–जनकपुर–कुर्था–विजलपुरा रेलमार्ग र बथनाहा–विराटनगर रेलमार्गमा नेपालतर्फको ७९ किमीमध्ये हालसम्म ५६ किमी सम्पन्न भइसकेको छ ।

चालू आवमा नै जयनगर–कुर्था रेलमार्ग सञ्चालनमा ल्याइएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डमा चालू आवमा एक दशमलव पाँच किमी ट्र्याक–बेड निर्माण भएको छ । हाल ट्र्याक–बेडको लम्बाइ ५० दशमलव पाँच किमी पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजनाको ९४५ किमी को विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ ।

जलयातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन

जलयातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको छ । हालसम्म कर्णाली नदी (खक्रौला–खिमडी) ११५ किमी, कालीगण्डकी (राम्दी–देवघाट) ९५ किमी, कोशी नदी (चतरा–तुम्लिङटार) ७५ किमी, नारायण नदी (देवघाट–गण्डक) ८५ किमी, त्रिशूली (देवघाट–मुग्लिन) २२ किमी, सुनकोसी नदी(अरुण दोभानदेखि माथि) २२ किमीमा आन्तरिक जलमार्गमा जलयान सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्