सुडानमा संकटकाल अन्त्यको संयुक्त राष्ट्रसंघद्वारा स्वागत

संयुक्त राष्ट्रसंघ, जेठ १८ । 

सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गनुभएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले सुडानका सैनिक प्रमुखले गरेको सकंकटकाल अन्त्यको घटनाको स्वागत गर्नुभएको हो ।

सुडानमा गत वर्ष सैन्य कू भएको थियो । सो घटनापछि विश्वका नेताहरुलाई सुडानलाई सैनिक शासनका अन्त्य गरी राजनीतिक निकासका लागि आग्रह गरिरहेका थिए । सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गर्नुभएको थियो ।  

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताउनुभएको थियो ।

सुडानमा पछिल्ला केही दिनहरुमा राजनीतिक हिंसा भएको र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको भन्दै सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि बढाएर नभई शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्नेमा संयुक्त राष्ट्रसंघको जोड रहेको छ ।

सुडानका सैन्य प्रमुख अब्देल फताह अल बुरानले यहाँ गएको वर्षदिन देखि जारी रहेको संकटकालीन अवस्थालाई आइतबारदेखि हटाएको घोषणा गर्नुभएको थियो ।–रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्