पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सिक्दै धादिङका किशोरी

धादिङ,२४ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका–९ र १४ का किशोरीहरुले महिनावारीको समयमा प्रयोग गरिने प्याड बनाउने सिप सिकेका छन् ।

कोसोक नेपालकोे आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा नीलकण्ठ–१४ मा रहेको सरस्वती मावि र वडा नम्बर ९ को पाल्पा सामरीभञ्ज्याङ माविका किशोरीहरुलाई सेनेटरी प्याड बनाउने तालिम दिईएको हो ।

सरस्वती माविका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३६ जना किशोरी सहभागि तालिममा निलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु रिजाल, कोसोक नेपालका शान्ति तामाङ, राजेन्द्र श्रेष्ठ लगायतले स्वास्थ्य सरसफाइ, किशोरी अवस्थामा हुने परिवर्तन र किशोरीहरुले स्वास्थ्यमा ध्यान दिनुपर्ने लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

त्यसैगरी पाल्पा सामरी भन्ज्याङ माविका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३१ जना किशोरीहरुलाई कोसोक नेपालका मानबहादर श्रेष्ठ र प्रतिज्ञा शर्माले तालिम दिनुभएको थियो । पुनः प्रयोग गर्न सकिने प्याड बनाउन सिकाइएकोले किशोरीहरुको उत्साहपूर्ण सहभागिता थियो ।

किशोरीहरुमा महिनावारी हुँदा विद्यालय आउन समेत नसक्ने भएकोले आफैले बनाएको प्याड लगाएर आउन सक्ने र यसलाई धोएर पुनः प्रयोग गर्न सकिने कपडा प्रयोग गरेर बनाउन सिकाइएको प्रशिक्षक शान्ति तामाङले बताउनुभयो । तालिममा महिनावारीको समयमा ध्यान दिनुपर्ने कुराहरु, स्वस्थ तरिकाले प्याड प्रयोग विधि बारे समेत सिकाइएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्