धादिङमा ६८ प्रतिशत रोपाई सकियो

धादिङ,०४ साउन।
धादिङमा ६८ प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकोमा साउनको ३ गते मंगलबारसम्ममा ७ हजार ५८८ दशमलव १२ हेक्टरमा क्षेत्रफल(६८ प्रतिशत)मा रोपाई सकिएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुुसार जिल्लामा २ नगरपालिका र ११ गाउँपालिकामध्ये हालसम्म नीलकण्ठ नगरपालिकामा ७५ प्रतिशत, धुनीबेशीमा ५५, नेत्रावती डबजोङमा ९०, गल्छीमा ४०, गजुरीमा ७५, गंगाजमुनामा ८०, बेनिघाट रोराङमा ७५, सिद्धलेकमा ८०, ज्वालामुखीमा ८०, त्रिपुरासुन्दरीमा ८५, खनियाबासमा ८०, रुवी भ्यालीमा ८५ र थाक्रे गाउँपालिकामा ९६ प्रतिशत रोपाइ भइसकेको छ ।

निलकण्ठ, धुनिवेशी, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, वेनिघाट रोराङ, गजुरी, थाक्रे, गल्छी लगायतका क्षेत्रहरुमा बर्खे धानको खेती हुँदै आएको छ ।

धादिङमा १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा ३४ हजार मेट्रिकटन बर्खे धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । धादिङमा उन्नत जातका सावित्री, मकवानपुरे १, सुख्खा १, २, ३, खुमल ४, ७, ६ लगायतका धान रोपिंदै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्