धादिङ,२६ फागुन ।
धादिङको सिद्धलेक गाउँपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम शुभारम्भ गरिएकोे छ । बुधबार गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम शुभारम्भ तथा स्वास्थकर्मिहरुलाई अभिमुखिकरण गरिएको हो । 
गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकहरुमा भएका स्वास्थ्य समस्याहरुको पहिचान गर्ने तथा लेखाजोखा राख्ने, स्थानीय स्तरमा समाधान गर्न सकिने स्वास्थ्य समस्याहरुको समाधान गरी आवश्यक भएमा थप उपचारका लागी माथिल्लो निकायमा समयमै प्रेषण गर्ने र जेष्ठ नागरिकहरुको समग्रमा स्वास्थ्यमा सुधार ल्याउने उद्धेश्यले कार्यक्रमको शुभारम्भ गरिएको प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माले बताउनुभयो ।
प्रत्येक महिनाको २७ गतेदेखी ३० गतेसम्म ४ दिन सञ्चालन हुने कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै भेट गरी स्वास्थ्य परिक्षण गरिने, निःशुल्क औषधि दिने, आवश्यकता अनुसार अभिलेख राख्ने,जनप्रतिनिधिहरु तथा स्वास्थ्य स्वयम सेविकाहरुको सहयोग लिई कार्यक्रम बारे नागरिकलाई पुर्व सु–सुचित गराईने शर्माले बताउनुभयो ।
कार्यक्रमको लागि गाउँपालिकाका सबै वडा अन्तर्गतका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्र र स्वास्थ्य विन्दुमा कार्यरत (सि.अ.हे.व., अ.हे.व., सि.अ.न.मी., अ.न.मी.) ४४ जना स्वास्थ्यकर्मी कर्मचारीमध्ये २२ जनालाई खटाईने शर्माको भनाई छ ।
कार्यक्रमको नियमित रुपमा गाउँँपालिकाबाट अनुगमन, मुल्याङ्कन तथा सुपरिवेक्षण गरिने,जेष्ठ नागरिकबाट आएका गुनासो तथा सुझाबहरु संकलन गरिने र सुझाव तथा गुनासालाई क्रमिक रुपमा कार्यान्वयन गर्दै लगिने गाउँपालिकाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले यस्तो कार्यक्रम ल्याउने जिल्लामा पहिलो पालिका भएको भन्दै जेष्ठ नागरिकलाई ठुलो सहयोग पुग्ने बताउनुभयो ।
उहाँले ज्येष्ठ नगारिकले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने भएकाले यो कार्यक्रम प्रभावकारी भएको उहाँको भनाई छ । यस्तै उपाध्यक्ष कमला शर्माले यस कार्यक्रमको कार्यन्वयन कतिको प्रभावकारी भएको छ भनि नियमित अनुगमन गरिने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा (अधिकारी), प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, वडाध्यक्षहरु, जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, कार्यपालिका सदस्य, बिभिन्न राजनितिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरु लगाएतका सहभागिता रहेको थियो ।


 
		 
			 
                             
                             
                             
                             
                            