विपत्तिको समयमा मानिसको मन बढी नै चल्ने गर्छ । मन जति चलायो त्यति नै शरीरलाई गाह्रो हुन्छ । यस बेलामा शरीरका ज्ञानेन्द्रीय बढी नै सतर्क हुने गर्छन् । कति बेला के सुन्न पर्ने हो, के देख्न पर्ने हो र के भोग्न पर्ने हो भन्ने जस्ता भावनाहरु मानिसको मनमा बारम्बार आइरहन्छ ।
समस्या आउन बाँकी नै हुन्छ । त्यसलाई आफूले झेल्न पर्छ या पर्दैन भन्ने पनि निश्चित हुँदैन । तर पनि त्यसकै कल्पनामा मानिसको मन आत्तिरहन्छ ।विपत्तिको समयमा मन आत्तिनु, डर हुनु र चिन्ता लाग्नु स्वाभाविक हो । यसलाई असामान्य परिस्थितिको सामान्य प्रतिक्रियाहरू हुन् भनेर बुझ्नु पर्छ ।
तनाव भन्नाले कुनै अप्ठ्यारो अवस्थामा मानिसको मनमा आउने अस्थिरता र शरीरले देखाउने प्रतिक्रिया हो । तनाव भनेको हाम्रो वातावरणमा घटेको कुनै पनि घटनाहरू प्रतिको मानिसहरुको प्रतिक्रिया हो । जसले तनाव अन्तर्गत शरीरको अप्ठ्यारो अवस्थालाई जनाउँछन् । परिस्थिति अनुसार मानिसको मनस्थिति परिवर्तन भइरहेको हुन्छ ।
परिस्थिति परिवर्तन गर्न सक्दैनौं जुन हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो । तर हाम्रो मनस्थिति भने परिवर्तन गर्न सक्छौँ । हामीले जे सक्छाैं त्यही गर्ने हो । त्यसैले यस्तो बेलामा मनस्थितिलाई बलियो बनाउन प्रयास गर्नुपर्छ । मन सकारात्मक कुरामा भन्दा पनि नकारात्मक कुरामा बढी जान्छ । नकारात्मक कुराले हामीलाई थप पीडा दिन्छ र असहज बनाउँछ । जे सोच्छौँ त्यस्तै हुन्छौँ । सोचाई अनुसार शरीरले पनि प्रतिक्रिया जनाउँछ ।
सोचाई जहिले पनि सकारात्मक लिनुपर्छ । मन शान्त भएन भने शरीर पनि शान्त हुँदैन । त्यसैले मनलाई शान्त बनाउनु नै उत्तम विकल्प हो । हामीले यस्तो खालको विपद् महसुस नै गरेका थिएनौँ, त्यसैले बढी डराएका हौँ भनेर आफूले आफूलाई नै सम्झाउनु र सम्झनुपर्छ । हल्ला तथा डर त्रासका पछिभन्दा पनि वास्तविकतामा आधारित भएर व्यवहार देखाउने प्रयास गर्नुपर्छ ।
मन मनले आफूले आफैलाई म शान्त छु, यस्तो बेलामा आत्तिनु हुँदैन भनेर भन्नुपर्छ । पहिला पनि मनमा गाह्रो हुँदा हामीले हाम्रो मन हामी आफैँले सम्हालेको हो त्यसैले सतर्क रहने हो तर आतङ्कित हुने होइन । सबैले सम्झौँ हाम्रो अहिलेको भोगाई तथा अनुभव कुनै पनि प्रकोपप्रतिको सामान्य प्रतिक्रिया हो । सबैलाई नआत्तिन र डरलाई साहसका साथ सामना गर्न हौसला दिने गरौँ ।
विपत्तिमा देखिने असरहरू
- डर र चिन्ता लाग्ने
- रिसाउने, झर्किने, एक्लै बस्न मन लाग्ने
- सम्झना शक्ति हराएको जस्तो वा बिर्सिएको जस्तो हुने
- मुटु ढुकढुक हुने, विरक्त लाग्ने
- आत्तिने, अत्यधिक तनावको महसुस गर्ने र छटपटी हुने
- खान मन नलाग्ने, निन्द्रा गडबडी हुने, सास फेर्न असहज भएको जस्तो हुने
- दुःखी देखिने, नरमाइलो मान्ने
- मुख सुक्ने वा शरीर तातिने
- जाँड रक्सी तथा चुरोट बिँडी खाने बानी बढ्ने
माथि भनिएका प्रतिक्रियाहरू कुनै मानसिक रोग लागेका लक्षणहरू होइनन्। यी प्रतिक्रियाहरू थोरै वा धेरै सबैमा हुने गर्छ । यस्ता असरहरू तथा भावनाहरू केही दिनदेखि केही हप्तासम्म हुनसक्छ । दुई वा दुई भन्दा बढी लक्षण, दुई वा दुई हप्ताभन्दा बढी भयो भने मनोचिकित्सक, मनोविद् र परामर्शकर्ताहरूसँग परामर्श लिनुपर्छ । विपत्ति बिस्तारै सामान्यतर्फ जान थालेपछि हामीले अनुभव गरेका प्रतिक्रियाहरू पनि बिस्तारै सामान्य हुँदै जान्छ । यी अप्ठ्यारा प्रतिक्रियाहरू घट्दै गएका छन् भने यो सामान्य हो भनेर बुझ्नुपर्छ ।
यस्तो बेलामा के गर्ने ?
त्रासदीपूर्ण घटना सहने तरिका तथा क्षमता सबैमा एकनासको हुँदैन, घटी बढी नै हुन्छ । जसरी अरु कुराहरु पनि व्यक्ति व्यक्तिमा फरक हुन्छ । यस्तो समयमा मन र शरीरलाई कसरी शान्त राख्ने त ?
- लामो सास तान्ने र फ्याँक्ने अभ्यास गर्ने
(मुख बन्द गर्ने र नाकले गहिरो सास लिने र केही सकेण्ड रोकेर बाहिर फाल्ने यो अभ्यास ५ मिनेटभन्दा बढी गर्ने । समय समय अनुकूल यो अभ्यास गर्न सकिन्छ ।)
- ध्यान तथा योग गर्ने
- एउटै कुरामा गहिरो सोचाई नराख्ने
- आफ्नो मनको भावनाहरू अरूलाई भन्ने बानी बसाल्नु वा परिवारमा छलफल गर्नुपर्छ ।
- अनावश्यक तनाव नलिने र खुसी बन्ने प्रयास गर्ने
- कोरोना सम्बन्धीको डर लाग्दा भिडियो र बढी समाचारहरू नहेर्ने
- प्रत्येक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्ने
- दैनिक कार्य तालिका बनाउने र त्यही अनुसार व्यवहार गर्ने
- नयाँ किताबहरू पढ्ने वा आफ्ना भावनाहरू लेख्ने
- सुतेर मात्र नबस्ने सृजनशील बन्न कोसिस गर्ने
- गीत सङ्गीत सुन्ने, गीतको तालमा शरीर तन्काउने तथा हाँस्यटेलिश्रृंखला हेर्ने
- खानपानमा ध्यान दिने
- आफूलाई मन पर्ने कामहरु गर्ने
- आफूले आफूलाई व्यस्त राख्ने
- परिवार, साथीभाइ तथा आफन्तलाई फोन गर्ने । सुखदुःख साटासाट गर्ने
यी अवस्थामा सहयोग लिने
विपतकाे समयमा डर, चिन्ता, पिर तथा रिस हुन स्वाभाविक हो । असामान्य अवस्थामा हुने सामान्य प्रतिक्रिया हुन् भनेर बुझ्नुपर्छ । यस्ता समस्याहरू सबैलाई हुन्छन् । तर ती समस्या कम हुनुको साटो बढ्दै गयो भने यस्तो बेलामा विशेषज्ञको सहयोग लिनुपर्छ ।
- विपत्तिको समयमा पैदा भएको डर, त्रास, आत्तिने जस्ता समस्याहरू बढ्दै गएमा
- दुई हप्ता भन्दा बढी निन्द्रामा समस्या भएमा
- दैनिक काममा ध्यान दिन गाह्रो भएमा
- काममा जाँगर कम हुँदै गएमा, मनमा निराशा तथा भविष्यप्रति निराशा बढी हुँदै जान थालेमा
- रिस तथा आक्रोशको मात्रा बढ्दै जान थालेको र सम्बन्धमा असर पर्दै जान थालेको छ भने
- एक्लै बस्ने, टोलाउने र खाना खानै छाडेमा
- चिच्याउने, कराउने र रुने गरेमा
यी माथिका समस्याहरू बढ्दै गएका छन् भने नजिकको स्वास्थ्य संस्था, अस्पताल, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सङ्घसंस्था, मनोचिकित्सक, मनोविद् र मनोविमर्शकर्तालाई भेटेर आफ्नो समस्या राख्नुपर्छ ।
रामकुमार थापा
नीलकण्ठ नगरपालिका धादिङको मनोविमर्शकर्ता हुनुहुन्छ ।
प्रतिक्रियाको लागि : [email protected]