धादिङमा दैनिक बढ्दै डेंगु संक्रमित : २७७ जना संक्रमित,सबैभन्दा बढी नीलकण्ठमा

धादिङ,३१ भाद्र ।
धादिङमा डेंगु जोखिम दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार अहिलेसम्म २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। गत साउन १ देखी आज शुक्रबारसम्मको विवरण अनुसार जिल्लाका १५५ जना पुरुष र १२२ महिला गरी कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

धादिङमा हाल ३ स्थानबाट डेङ्गुको परिक्षण हुदैँ आएको स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाद घिमिरेले बताउनुभयो । धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रबाट परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको घिमिरेले बताउनुभयो ।

नीलकण्ठमा १४३, गजुरीमा ३३ र त्रिपुरासुन्दरीमा २१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कुल संक्रमित मध्ये ६९ जनाको ठेगाना खुलेको छैन ।स्वास्थ्य कार्यालयले संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। डेँगु रोगको नियन्त्रण तथा रोकथामको लागि शुक्रबार बरिष्ठ जनस्वास्थ्य प्रशासक घिमिरेको अध्यक्षतामा बसेको आर.आर.टिको बैठकले बिभिन्न निर्णय गरेको छ ।

बैठकले संक्रमण तिव्र रुपमा फैलिएको,संक्रमितको अस्पतालमा भर्ना हुने दर उच्च रहेकोले परिक्षण दायरा बढाउने,सर्वसुलभ उपचारको प्रवन्ध मिलाउन स्थानिय तह ,अस्पताल , स्वास्थ्य कार्यालय र गैर सरकारी संस्थाहरुले आवश्यक पहल गर्ने, परिक्षणको लागि किटको व्यवस्थापन गर्ने लगाएतका निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय अभियान अन्तरगत असोज १ गते शनिबार बिहान ११ बजे धादिङबेशी बिचबजारबाट शुभारम्भ गर्ने, प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घर तथा कार्यालय भित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ अभियान संचालन गर्ने निर्णय गरेको छ । साथै दैनिक रुपमा परिक्षण गरिएका बिरामी संख्या र पोजेटिभ आएको बिरामीको विवरण स्वास्थ्य कार्यलयमा उपलब्ध गराउन अनुरोध पनि गरेको छ ।

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् । डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ ।

डेँगु रोगको रोकथामको लागि गर्नै पर्ने क्रियाकलापहरु :
१.गमला, फुलदानी, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिऔँ ।
२.पानीको ट्याङकीलाई लामखुटे प्रवेश गर्न नसक्ने गरी ढाकेर राखौँ ।
३.पुरा बाहुला भएको शरीर पुरै ढाक्ने कपडा लागाऔँ ।
४.दिउँसो वा राति सुत्दा झुल प्रयोग गरौ साथै साना केटाकेटीहरुलाई जुनसुकै समयमा पनि झुल भित्र सुताऔँ ।
५.घरको झ्याल ढोकामा जाली लगाऔँ ।
६.घर वरीपरी सफा सुग्घर राखौ र पानी जम्ने खाल्डा खुल्डी पुरौ ।
७.आफु बसोबास गर्ने स्थानमा लामखुटेको लार्भा तथा अण्डा खोजी गरी नष्ट गर्ने अभियान चलाऔँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्