डेङ्गु संक्रमण बढेसँगै धादिङमा १० बजे १० मिनेट अभियान शुरु

धादिङ,०१ असोज ।
धादिङमा डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको छ ।

डेङगुले बिकराल रुप लिदै गईरहेको अवस्थालाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाले आजबाट धादिङबेशीमा प्रत्येक शनिबार १० बजे १० मिनेट अभियान शुरु गरेको छ ।

अभियानको क्रममा आफ्नो घर वरपर प्रत्येक शनिवार १० बजे १० मिनेट समय मिलाएर सरसफाईमा केन्द्रित हुन जिल्लाबासीलाई आग्रह गरिएको छ।अभियानमा एडिस नामको लामखुट्टेले फुल पार्ने ठाउँहरु भाँडाकुँडामा जम्मा भईराखेको पानी, टायर, बोतल र बिर्कोहरु लगायतको खोजी गरी त्यसका फुलहरु नष्ट गर्नुपर्ने, शरीर ढाक्ने लुगाहरु लगाउने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने लगायतका सन्देश मुलक सचेतना कार्यक्रम गरिने बताईएको छ ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार अहिलेसम्म २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। गत साउन १ देखी आज शुक्रबारसम्मको विवरण अनुसार जिल्लाका १५५ जना पुरुष र १२२ महिला गरी कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

धादिङमा हाल ३ स्थानबाट डेङ्गुको परिक्षण हुदैँ आएको छ ।परिक्षण गरिएका मध्ये धेरै केश नीलकण्ठ नगरपालिकामा भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । नीलकण्ठमा १४३, गजुरीमा ३३ र त्रिपुरासुन्दरीमा २१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कुल संक्रमित मध्ये ६९ जनाको ठेगाना खुलेको छैन । कार्यालयले संक्रमण तिव्र रुपमा फैलिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्