संक्रमितको घरदैलोमा कोसेली

सुर्खेत : प्रदेशकै प्रवेशद्वार सुर्खेतको भेरीगंगा नगरपालिकामा कोरोना भाइरस सक्रमणको जोखिम बढ्दो छ। प्रतिदिन संक्रमण र मृत्युदर बढिरहेको भेरीगंगा नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि टार्गेट गरेर ‘संक्रमितका लागि कोसेली’ अभियान सुरु गरेको छ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्रीहरु घरमै पुगेर वितरण गर्ने गरेको छ। नगरपालिकाका जनप्रतिनिधि स्वंयम कोरोना संक्रमितको घरमा पुगेर अण्डा, मास्क, सेनिटाइजर लगाएतका सामग्री वितरण गर्न थालेको हो।

संक्रमितको घरमा पुगेर स्वास्थ्य सुरक्षाको मापदण्डको पालना र कसरी सुरक्षित घरमा एक्लै बस्ने भन्ने विषयमा समेत सल्लाह र परामर्श दिने गरेको नगरपालिकाको उप–प्रमुख रेणु आचार्यले जानकारी दिइन्।

‘हामीले विशेषगरी होमआइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि ‘संक्रमितका लागि कोशेली’ कार्यक्रम सुरु गरेका छौँ,’ उप–प्रमुख आचार्यले भनिन्, ‘घरमै पुगेर हामीले स्वास्थय अवस्थाको बारेमा बुझ्ने, र होमआईसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका विषयमा पनि जानकारी दिनेगरी यो कार्यक्रम सुरु गरेका छौँ।’

नगरपालिका जनताको स्वास्थ्यप्रति गम्भीर भएको भन्दै नगरक्षेत्रभित्र संक्रमित नागरिकको घरदैलोमा पुग्ने। यद्यपि, हाल यो कार्यक्रम नगरक्षेत्रको सवैभन्दा बढी संक्रमित भएका ६, ७, ८ र ९ वडामा सुरु गरिएको छ। नागरिकको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वंयम नगरका जनप्रतिनिधिहरुसंगै स्वास्थ्यकर्मीहरु घरदैलोमा पुग्ने कार्यवहाक नगरप्रमुख समेत रहेकी आचार्य बताउँछिन्।

नगरपालिकाले यसअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका परिवारलाई नगद पाँच हजार रुपैयाँ दिने निर्णयसमेत गरिसकेको छ। त्यस्तै, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र उपचारका लागि नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ। आपत्कालिन अवस्थामा आवश्यक खर्च गर्ने गरी यो कोष खडा गरिएको हो।

जनताको सुरक्षाका लागि नगरपालिकाको स्रोत, साधन र क्षमता अनुसार कुनै कसर बाँकी नगराख्ने उपप्रमुख आचार्यको भनाई छ।

‘यो महामारीमा नगरको उपलब्ध स्रोत, साधन जति सक्दो उपयोग गरेर, नागरिकको ज्यू, ज्यान जोगाउने हाम्रो पहिलो प्राथमिकता हो, त्यसरी नै लागि परेका छौँ’ उपप्रमुख आचार्यले भनिन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्