माधव नेपालको आह्वान– प्रतिगमन भाग २ को प्रतिवाद गरौं

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गरी चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिंदै प्रतिवाद गर्न आह्वान गरेका छन् ।

सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै नेता नेपालले चुनाव घोषणालाई ‘सर्वसत्तावाद लाद्ने उद्देश्य’ र ‘व्यवस्था नै कू गर्ने अग्रसरता’ भनेर टिप्पणी गरेका छन् ।

उनले संविधानको मर्ममाथि कुठाराघात भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको आलोचनासमेत गरेका छन् । ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो,’ नेता नेपाल भन्छन्, ‘केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

यसअघि २०७७ साल पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि प्रतिगमन तिर गएको भन्दै तीव्र विरोध भएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेसँगै प्रतिनिधि सभा पुन: व्युँतिएको थियो । अहिले फेरि संसद् विघटन गरेपछि यसलाई माधव नेपालले प्रतिगमन भाग २ मानेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्