उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, भोलि तीन सिडिओको बैठक

काठमाडौं । उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको अनलाइनखबरलाई बताए । उनले भने, ‘भोलि दिउँसो भर्चुअल माध्यमबाट यस विषयमा ललितपुर र भक्तपुरका सिडिओ सा’बसहितको बैठक बस्दैछौं ।’

ठकअघि गृह मन्त्रालयमा पनि निषेधाज्ञा कति समय थप्नेबारे छलफल हुनेछ । यद्यपि, हालसम्म एक साता निषेधाज्ञा थप्ने विषयमा गृह मन्त्रलाय र तीन प्रमुख जिल्ला अधिकारीहरुको मत छ ।

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसपछि २२ वैशाखमा पुनः एक साता थपिएको निषेधाज्ञा ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।

तर, यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको हो । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरेर आगामी चार सातामा संक्रमण क्रमशः घट्दै जाने बताएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेले पनि हालै तीन सुरक्षा निकायका प्रमुखलाई बोलाएर निषेधाज्ञाको कडा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर उनले कोभिड–१९ अध्यादेशअनुसार निषेधाज्ञाको कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

अध्यादेशमा अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिंडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

शनिबार न्यौपानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएका थिए ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार अध्यादेशअनुसार निषेधाज्ञालाई कडाइ गर्दै लैजान थालिसकिएको छ । उनले भने, ‘आज नागरिकलाई जानकारीका लागि सूचना पनि जारी गरेका छौं, अब निषेधाज्ञा थप कडा हुनेछ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्