विवाद मिलेसँगै सञ्चालनमा आयो नुवाकोट–धादिङ जोड्ने त्रिशूली नदीको पुल

निर्माण सम्पन्न भएर पनि सडक  एप्रोच सडकको ट्रयाक खोल्ने विषयमा विवाद हुँदा झण्डै तीन महिनासम्म सञ्चालनमा आउन नसकेकाे नुवाकोट–धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बुधबारदेखि सञ्चालनमा आएको छ 

नुवाकोटको बेलकोटगढी नगरपालिका –५ केउरेनी र  धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार जोड्ने १९२ मिटर लामो सो पुल जग्गा विवाद मिलेसँगै आइतबारदेखि सञ्चालनमा आएको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

सडकको ट्र्याक खोल्ने विषयमा दुई फोस्रेटारका स्थानीय बासु खतिवडा र अर्जुन खतिवडाको जग्गामा विवाद रहेको र उनीहरुले बाटो दिन सहमति दिएपछि आजै डोजर लगाएर सडक ट्र्याक खोलिएको उनले बताए ।

 विवाद मिलाउनका लागि स्थानीय जनप्रतिनिधिका साथै स्थानीय र सरोकारवालाबीच दिनभर भएको छलफलपछि जग्गाधनी सडक बनाउन जग्गा दिन राजी भएका हुन् ।  पुल सञ्चालनमा आएपछि सो भेगका स्थानीय हर्सित भएका छन् ।

२०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्स्ट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएर पुल निर्माण कार्य अघि बढेको थियो । 
४ वर्षभित्रै निर्माणसम्पन्न गर्नेगरी निर्माण कार्य भएपनि तीन महिनाअघि मात्रै अर्थात निर्माण थालेको झण्डै ७ वर्षपछि सम्पन्न भएको थियो । 

सो पुल सञ्चालनमा आएसँगै गल्छीदेखि केउरिनी हुँदै धादिङबेशी पुग्न छोटो दुरी हुने बताइएको छ भने  नुवाकोटको तारुकालगायतका ग्रामिण क्षेत्रको विकास र समृद्धिमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । 

त्रिशूली नदीमाथि पक्की नहुँदा त्रिशूली पारीका स्थानीयले निकै सास्ती भोग्दै आएकामा पुल बनेर सञ्चालनमा आएसँगै यस क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने स्थानीय रमेश ढुंगानाले जानकारी दिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्