कक्षा १२ को वार्षिक परीक्षा २०८० साल वैशाख दोस्रो साता सञ्चालन हुने

काठमाडौँ,२५ असोज ।
राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० साल वैशाख दोस्रो सातामा सञ्चालन गरिनेछ भने नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिनेछ ।

कक्षा ११ को वार्षिक परीक्षा भने २०८० को बैशाख अन्तिम साताबाट सञ्चालन हुने कार्यतालिकामा उल्लेख छ । कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा २०८० वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ भने नतिजा भदौ मसान्तभित्र प्रकाशन गरिनेछ । कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि २०७९ कातिक मसान्तभित्र रजिष्ट्रेसन आवेदन फारम वितरण हुनेछ ।

२०८० साल वैशाखमा कक्षा १२ को नियमित, आंशिक/ग्रेडवृद्धि एवं कक्षा ११ को (आंशिक/ग्रेड वृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०७९ माघ मसान्तभित्र प्रकाशन हुने र परीक्षा केन्द्र फागुन मसान्तभित्र निर्धारण गरिनेछ । २०७९ चैत मसान्तभित्र विद्यालयहरुलाई विद्यार्थीहरुको प्रवेशपत्र तथा ट्रिप्लिकेट वितरण गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्