नेपालबाट हुने आयात र निर्यात घट्यो

काठमाडौँ,०५ कात्तिक ।
नेपालबाट हुने आयात र निर्यात घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको २ महिनाको अवधिमा आयात र निर्यात घटेको देखाएको हो ।

बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा नेपालको निर्यात ३४ प्रतिशतले घटेको छ भने आयात १३ प्रतिशतले घटेको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउन र भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ ।

गतवर्ष २०७८/७९ को २ महिनाको अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले बढेको थियो । यस अवधिमा नेपालबाट भारततर्फ हुने निर्यात ४५ दशमलव २ प्रतिशतले र चीनतर्फ हुने निर्यात २१ दशमलव ६ प्रतिशतले घटेको छ ।तथ्याङ्क अनुसार यस अवधिमा नेपालले विदेशबाट २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ आयात गरेको छ ।

गत वर्षको यही अवधिमा यस्तो आयात ७५ दशमलव ९ प्रतिशतले बढेको थियो । भारतबाट हुने आयात ९ दशमलव ५ प्रतिशतले घट्दा चीनतर्फबाट हुने आयात १३ दशमलव ३ प्रतिशतले घटेको छ । यस्तै, अन्य मुलुकबाट हुने आयात २० दशमलव ७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्