धादिङ,२६ ज्येष्ठ । नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँको सानो भ¥याङबाट नक्कली गतिविधिमा संलग्न एक जनालाई ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय दीपक श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
भारत घर भई थानकोट बस्ने रोशन जैसवालले अवैधरूपमा विभिन्न कम्पनीको नाम तथा लोगो राखी गुणस्तरहीन हेण्ड स्यानिटाइजर उत्पादन गर्ने गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा जाँदा एक जना पक्राउ परेका हुन्। उनको साथबाट पाँच लिटर, ५०० र १०० मिलीलिटरका समेत गरी २०० कार्टुन स्यानिटाइजर बरामद गरिएको छ।
श्रेष्ठसँगै भारत घर भएका जैसवालले स्थानीयवासी राजु महर्जनको घरको कोठा भाडामा लिई भारतको श्रीनाथ हरबल एण्ड कस्मेटिक इण्डष्ट्री प्रालिको नाममा कम्पनी दर्ता गरी अवैधरूपमा विभिन्न उद्योगको कस्मेटिक सामानसमेत उत्पादन गर्दै आएको फेला परेको छ।
उक्त घरमा कस्मेटिकको सामान गोदाम गरेर राखेको पाइएकाले वाणिज्य विभागसँगको समन्वयमा सोमबार सिल गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताउनुभयो । स्यानिटाइजर र कस्मेटिक कम्पनी खोली अवैधरूपमा भारतीय ब्राण्डका नक्कली सामान उत्पादन गर्ने भारतीय नागरिक जैसवाल र राजन जैशवाल फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ।