अब सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैंक बन्ने,धादिङमा मङ्गलबारसम्म आइपुग्ने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सबै जिल्लाहरुमा ‘अक्सिजन कन्सन्ट्रेटर बैंक’ स्थापना गर्ने भएको छ । मन्त्रालयले विभिन्न दातृ निकायहरुबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर उपयोग गर्न ७७ वटै जिल्लामा कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको हो ।

कन्सन्ट्रेटर बैंक स्थापनाको पहिलो चरणमा प्रत्येक जिल्लामा कम्तिमा २० वटाका दरले देशभर १ हजार ५ सय ६३ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक कार्यविधि तयार पारी जिल्लास्थित जनस्वास्थ्य कार्यालयअन्तर्गत बैंक स्थापना गर्न लागेको हो ।

यसका साथै आवश्यकताका आधारमा सरकारी वा निजी अस्पताल, स्वास्थ्य चौकी वा आइसोलेसन सेन्टरलाई कन्सन्ट्रेटर उपलब्ध गराइने र बिरामीको संख्या घटेपछि ती सामग्री फेरि बैंकमा जम्मा गर्नुपर्ने प्रावधानसहितको कार्यविधि निर्माणको अन्तिम चरणमा रहेको मन्त्रालय स्रोतले बताएको छ ।

पहिलो चरणमा वितरण गरिन लागिएको अक्सिजन कन्सन्ट्रेटरमध्ये प्रदेश १ का १४ जिल्लामा पठाइने २ सय ८० वटा गैरआवासीय नेपाली संघले उपलब्ध गराएको हो । प्रदेश २ मा वितरण गर्न लागिएको १ सय ६० अक्सिजन कन्सन्ट्रेटरमध्ये १ सय ४० वटा सोस एक्सन हङकङ र २० वटा एमआईटी फाउन्डेसनले उपलब्ध गराएका हुन् ।

बाग्मती प्रदेशमा वितरण गर्न लागिएका २ सय ८० अक्सिजन कन्सन्ट्रेटरमध्ये सोस एक्सन हङकङले उपलब्ध गराएका ४०, एमआईटी फाउन्डेसन अस्ट्रेलियाले उपलब्ध गराएका ४०, गैरआवासीय नेपाली संघले उपलब्ध गराएका ४० र सांघाई जादा बुद्ध टेम्पलले उपलब्ध गराएका १ सय ४० वटा रहेको समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा भने १० जिल्लामा २० का दरले र तनहुँमा २३ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइँदै छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा २ सय ४० वटा अक्सिजन कन्सन्ट्रेटर वितरण हुनेछ । त्यसैगरी कर्णाली प्रदेशका १० जिल्लामा २० वटाका दरले २ सय वटा अक्सिजन कन्सन्ट्रेटर वितरण हुनेछ । धादिङमा पनि उक्त कन्सट्रेटर मङ्गलबार साँझ सम्म आइपुग्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्