केही पत्रकारले आचार संहिता पालना नगर्दा समग्र पत्रकारिता क्षेत्र कमजोर भयो:अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिता अविश्वासिलो बन्दै गएको बताउनुभएको छ। केही पत्रकारले पत्रकार आचार संहिताको पालना नगरी समाचार सम्प्रेषण गर्दा समग्र पत्रकारिता क्षेत्रलाई नै कमजोर बनाएको भन्दै अध्यक्ष बस्नेतले अहिले नेपाली पत्रकारिता अविश्वासिलो बन्दै गएको बताउनुभयो ।

शनिवार धादिङबेशीमा प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ धादिङको समन्वयमा सम्पन्न ‘कोभिडको कारण सञ्चार माध्यममा परेको समस्या र श्रमजीवी पत्रकारको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा काउन्सिल अध्यक्ष बस्नेतले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा उहाँले कोभिडको कारण पत्रकारहरुले भोग्नु परेको समस्या निकै चुनौतीपूर्ण रहेकाले जोखिमबाट बच्दै मर्यादित र संयमित पत्रकारिता गर्न आग्रह गर्नुभएको छ । पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना अनिवार्य भएको बताउनुभएको छ । अध्यक्ष बस्नेतले कोभिड प्रभावित संचाकर्मीलाई राहत स्वरुप लेखनबृत्ती कार्यक्रम ल्याउने, संक्रमित पत्रकारको निशुल्क उपचार गरिने र अनलाइनका लागि लोककल्याणकारी बिज्ञापन र युटुब ब्यवस्थापन गर्न मापदण्ड बनाउने विषयमा अध्ययन गरिरहेको बताउनुभयो ।

यस्तै काउन्सिलका सदस्य दिपक पाण्डेले दर्ता नभई सञ्चालनमा रहेका अनलाइन व्यवस्थित गर्न काउन्सिलले स्वअनुगमन गरिरहेको र कानूनी दायरामा नआउने, समाजलाई भ्रम फैलाउने, तथ्यहिन समाचार पोष्ट गर्ने कसैलाई पनि छुट नभएको वताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य हरिहरसिंह राठौरले स्थानीय संचार माध्यम बिज्ञापनमुखी बन्दै गएको भन्दै सकारात्मक समाज परिवर्तनको लागि कलम चलाउन पत्रकारहरुलाई सुझाव दिनुभयो । 

प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका सदस्य केशव अधिकारीले  सामाजिक संजालमा आएका सुचनाको आधारमा समाचार बनाउने प्रवृत्ति बढेकोले पत्रकारिताको आचारसंहिता ख्याल गरेर समाचार प्रकाशित तथा प्रशारण गर्न आग्रह गर्नुभएको छ । त्यसैगरी नेपाल पत्रकार महासंघ धादिङका पूर्व अध्यक्ष नबराज छत्कुलीले कोभिडका कारण सिङ्गो संचारगृह संकटमा परेको बताउनुभयो। उहाँले पत्रकारिता पेशाको गरिमा र महत्व अभिवृद्धिका लागि आचार संहिताको कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभएको थियो ।कार्यक्रमकै अवसरमा काउन्सिलका अध्यक्ष बस्नेतलाई पत्रकार महासंघ धादिङले कार्यकाल सफलताको कामना गर्दै सम्मान गरेको छ।  नेपाल पत्रकार महासंघ धादिङ शाखाका उपाध्यक्ष सानुबाबु तिमल्सिनाको सभापत्विमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, बरिष्ठ प्रशासकीय अधिकृत एवम प्रवक्ता दिपक खनाल, उपप्रशासकीय अधिकृत एवम सूचना अधिकारी रामशरण बोहोरा, राष्ट्रिय सञ्चार माध्यमम आवद्ध धादिङका प्रतिनिधि, जिल्लामा सञ्चालन रहेका सञ्चारमाध्यमका संचालक तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ धादिङ शाखाका उपाध्यक्ष सरिता श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्