देशभरका शिक्षकहरुको आन्दोलन चर्किँदै,धादिङका १३ वटै स्थानीय तहमा सांकेतिक धर्ना

 धादिङ,१८ असार ।

देशभरका विद्यालयमा कार्यरत शिक्षकहरुको आन्दोलन चर्किएको छ । नेपाल शिक्षक महासङ्घको आयोजनामा चौथो चरणको आन्दोलन अन्तरगत आज देशभरका ७५३ वटै पालिकामा सांकेतिक धर्ना कार्यक्रम सम्पन्न भएको हो ।

गुणस्तरीय शिक्षा तथा पेशागत विकास एवम् सुरक्षाका लागि ३४ सुत्रीय माग अघि सार्दै शिक्षकहरु आन्दोलनमा होमिएका हुन् । बजेटमा शिक्षाका लागि कुल बजेटको २०५ लगानी हुनुपर्ने, अनिवार्य तथा निशुल्क शिक्षा व्यवहारमा कार्यान्वयन हुनुपर्ने, समान तहका निजामती कर्मचारी तथा शिक्षकबिचको असमानता अन्त्य हुनुपर्ने लगायतका ३४ बुँदे माग राखेर लामो समयदेखि शिक्षकहरु आन्दोलनमा लागिरहेका छन् ।

शिक्षकहरुलाई अविलम्ब कोरोना विरुद्धको खोपको व्यवस्था हुनुपर्ने, शिक्षक कर्मचारीको स्वास्थ्य सुरक्षा कोषको व्यवस्था हुनु पर्ने, शिक्षकहरुको सरुवा बढुवामा भइरहेको विभेद लगायतका विषयमा महासङ्घले आन्दोलन चर्काएको हो ।

धादिङमा पनि शुक्रबार १३ वटै स्थानीय तहमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सांकेतिक रुपमा धर्ना कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक सङ्घ धादिङका जिल्ला अध्यक्ष विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभयो । स्थानीय आन्दोलन समितिको आयोजनामा प्रत्येक पालिकाको कार्यालयमा कम्तिमा २० जना शिक्षकको सहभागितामा सांकेतिक धर्ना सम्पन्न भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। नीलकण्ठ नगरपालिकाको कार्यालय धादिङबेसीमा भएको धर्ना कार्यक्रममा नेपाल शिक्षक सङ्घ संघीय सदस्य भवानी तिमिल्सिना, प्रदेश महासचिव दीपक सिंखडा, जिल्ला अध्यक्ष विष्णु प्रसाद अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष खिल बहादुर धमला लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्