सार्वजनिक संस्थानलाई नाफामा ल्याउन नीतिगत सुधारको तयारी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी तयारी थाल्न निर्देशन दिएका छन्। सार्वजनिक संस्थानहरुलाई नाफामा लैजानका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न पनि निर्देशन दिएका छन्। 

बुधवार अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले घाटामा संचालित सार्वजनिक संस्थानहरुलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिएका हुन्। 

‘के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरुलाई नाफामा लिन सकिन्छ, के–के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुुस्,’ मन्त्री शर्माले सम्बद्ध कर्मचारीलाई निर्देशन दिँदै भने। 

सरकारको स्वामित्वमा संचालित सार्वजनिक संस्थानहरु ४४ वटा रहेका छन्। औद्योगिक क्षेत्रका १०, जनउपयोगी ५, व्यापारिक ५, वित्तीय ९, सामाजिक ५ र सेवा क्षेत्रका १० वटा संस्थान रहेका छन्। यसमध्ये नाफामा संचालित संस्थानहरु २४ वटा रहेका छन् भने घाटामा संचालित १८ वटा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्