भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीले धादिङका एक हजार सुकुम्बासी अन्योलमा

धादिङ,२१ साउन।
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि धादिङमा नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ। मन्त्रिपरिषद्को हालैको निर्णयले देवी ज्ञवालीको अध्यक्षतामा गठित उक्त आयोग खारेज भएसँगै सुकुम्बासी र अव्यवस्थित बसोवासलाई मापदण्ड बनाएर व्यवस्थित गरिने काम अलपत्र परेको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले पहिचान गरेको २५  सुकुम्बासीहरूको जग्गा आयोगबाट खटिएको अमिनीले नापजाँच गरेको थियो । सुकुम्बासीहरूले ४५ दिनभित्र जग्गाको लालपुर्जा पाउने भएकामा उक्त निर्णयले काम रोकिएको आयोगका जिल्लासदस्य सञ्जय दुवाडीले बताउनुभएको छ । यस्तै सिद्धलेक गाउँपालिकाले ३५ भूमिहीनको तथ्याङ्क तयार गरेर जग्गा नाप्नका लागि अभिलेख तयार पारेको थियो भने १५ सय जनाले अव्यवस्थित बसोबासीले समेत पालिकामा निवेदन दिएका थिए ।

जिल्लाको नीलकण्ठ नगरपालिका, खनियाबास गाउँपालिका र रुबीभ्याली गाउँपालिका बाहेकका पालिकाहरुले भूमिहिनलाई जग्गा नापेर लालपूर्जा वितरणको तयारी गरिरहेको र आयोग खारेजीले भूमिहिन माथी बर्तमान सरकारले असली रुप देखाएर लात हानेको दुवाडीको भनाइ छ ।

जिल्लामा १ हजार भूमिहिन र १५ हजार भन्दा बढी अव्यवस्थीत बसोबास गरि रहेकाहरुको भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि निवेदनको आधारमा स्थानीय सरकारसंग छलफल गरेर काम गर्दै गर्दा रोकिएकोले काम नै अलपत्र परेको छ । धादिङमा २०७७ माघ २८ गतेदेखि आयोगले जिल्ला समन्वय समितिमा कार्यालय स्थापना गरेर काम गर्दै आएको थियो ।–रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्