धादिङमा पनि मास्क अभियान सुरु गरिएको छ।आज जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा कोरोना संक्रमणको तेस्रो लहरबाट बच्नका लागि मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्धेश्यले मास्क अभियान सुरु गरिएको हो ।
अभियान अन्तर्गत आज निलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा तपाईको मास्क खोई ?,‘नेपाल मास्क अभियान, म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु लेखिएका व्यानर र प्ले कार्ड बेकि जनचेतनामुलक कार्यक्रम सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख‚सशस्त्र प्रहरी बल, अनाश्रित गुल्म धादिङवेसीका प्रमुख,अन्य सरोकारवाला निकायहरु र अन्य संघसस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको अवसरमा नेपाल रेडक्रस सोसाइटी धादिङ र धादिङ उद्योग वाणिज्य संघको सहयोगमा प्राप्त एक हजार थान मास्क बजारमा मास्क नलगाई हिड्ने सर्वसाधारणहरुलाई वितरण गरिएको छ।
साउन २३ देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ देशभर मास्क अभियान सञ्चालन गरेको छ।देशैभर जनस्वास्थ्यका मापदण्ड उलंघन भएको र मास्क लगाउन पनि लापरबाही गरेका कारण स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गरिएको मन्त्रालयले जनाएको छ।