सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरु उपस्थित हुनुभयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त यो भन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो ।यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमाले अनुपस्थित भएपनि फेरिफेरिका बैठकमा उपस्थित हुने अपेक्षा व्यक्त गरेका थिए ।