किसानका आँखामा आँशु:कसरी ऋण तिर्ने ? कसरी परिवार पाल्ने ?

धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मुकेशकुमार यादव गाउँमा सरसापट गरी डेढ बिघा जग्गामा जिरी जातको धान लगाए । समयमै बर्षा भएका कारण राम्रै फल्यो । ऋण तिर्न र परिवारका निम्ति अन्न जोहो भयो भनेर उनी खुशी भए । एक साता अघि उनले काट्न शुरु गरे ।

तर सोमबार रातिदेखि परेको पानीले पाकिसकेको उनको धान डुबानमा परेको छ । ‘डेढ बिघा खेतकै धान भित्र्याउन मात्रै बाँकी थियो । मेरो मिहिनेत, लगानी सबै बर्बाद भयो’ उनी भन्छन्, कसरी ऋण तिर्ने, अनि परिवारलाई कसरी पाल्ने ?’उनका अनुसार खेती गर्ने समयमा मजदुरको ज्याला र मलखाद्यका लागि ५० हजार ऋण लिएका थिए ।

‘प्रत्येक बर्ष यस्तो ऋण लिएर खेती गर्दै आएको छु,’ उनी भन्छन्, ‘उब्जेको धान बेचेरै ऋण चुक्ता गर्ने र परिवारलाई पाल्दै आएको हो । यस पटक अब न ऋण तिर्न सकिन्छ, न त परिवारलाई नै पाल्न सकिन्छ ।’

मुकेश जस्तै पीडामा छन्, मालबर मण्डल । ९५ बर्षका मण्डलले १५ कठ्ठा जग्गामा धानबाली लगाएका थिए । पाकिसकेको धानबालीलाई घर भित्र्याउन बाँकी थियो । काटेर खेतमा राखेको धान बेमौसममा परेको पानीले डुबाएको छ । ‘शुरुदेखि खेती गरेरै परिवार पाल्दै आएको छु, अब कसरी छाँक टार्ने ?’ गहभरी आँसु पार्दै उनले भने ।

मण्डलका एक श्रीमती र एक छोरी छन् । भन्छन्, ‘सबै बर्बाद भयो, यसपाली पेट पाल्नै समस्या हुन्छ ।’मुकेश र मालबरजस्तै धेरै किसानलाई पानीले पीडा दिएको छ । लगातारको भरीका कारण खेलमा पानी जमेको छ । डुवानमा परेको धानलाई उठाएर आलीमा राख्ने प्रयास गरिएको छ । तर डुबेको धान सड्ने सम्भावना धेरै भएको मुकेश बताउँछन् ।

काटिएका सबै धानमा क्षति

सोमबार साँझदेखि शुरु भएको बर्षा जारी रहँदा प्रदेश २ को धनुषासहित सबै जिल्लामा लगाइएको धानबालीलाई नोक्सान पु¥याएको छ। पानीले धान बालीमा पु¥याएको क्षतिको विवरण संकलन भइरहेको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बताएको छ। मन्त्रालयका सूचना अधिकारी मनिष पालका अनुसार प्रदेशका ८ वटै जिल्लामा लगाइएको धानबालीमा बर्षाले प्रभाव पारेको छ ।

काटिइसकेको धानमा बढी क्षति पुगेको भन्दै उनले भने, ‘पूर्वतिरको जिल्लामा अलिक बढी क्षति पु¥याएको देखिएको छ । लगाइएको कुल धानबालीमध्ये ५ प्रतिशत धान काटिइसकेको थियो । झरीले क्षति पु¥याएको छ, कतिपय ठाउँमा बगाएको पनि सूचना छ ।’

मन्त्रालयका अनुसार प्रदेशका ४ लाख ३ हजार १ सय ६४ हेक्टर जग्गामा धान खेती भएको छ । बर्षाले काट्न बाँकी धानमा धेरै क्षति पुगेको छैन । तर पानी नरहे नकाटिएका धानमा पनि ठूलो क्षति पु¥याउन सक्ने सूचना अधिकारी पालले बताए । समाचार स्रोत अनलाईन खवर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्