नीलम कार्की निहारिकाको ‘द्रौपदी अवशेष’ माथि विमर्श

उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित पछिल्लो उपन्यास कृति ‘द्रौपदी अवशेष’माथि विमर्श गरिएको छ । सोमबार काठमाडौँमा लोकवार्ता परिषद् द्वारा आयोजित एक कार्यक्रमका बीच उपन्यासमाथि गहन विमर्श गरिएको हो ।

कार्यक्रमका वक्ता प्रतिनिधिसभा सांसद छक्कबहादुर लामाले उपन्यासले हुम्लाको यथार्थपरक र गम्भीर विषय उठान गरेको बताउनुभयो । पौराणिककालीन पात्र द्रौपदीसँग जोडिएको सामाजिक परम्परा हुम्लामा अझै पनि कायम रहेको बताउँदै सांसद लामाले हुम्लाको सामाजिक परिवेश बाहिर ल्याएकोमा उपन्यासकारलाई बधाई दिनुभयो । यो कुसंस्कार भए पनि अद्यावधि अवशेषको रुपमा रहेको उनको भनाइ थियो । उपन्यासमा उल्लेख भएका पात्र, परिवेश, विषयवस्तु र घटनाक्रम यथार्थपरक भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्का वक्ता प्रा.डा. वीणा पौड्यालले संस्कृतिसँग जोडिएको विषय उठान गरेको भन्दै उपन्यासकारलाई बधाई दिनुभयो । उपन्यासले कला, संस्कृति, पर्यटन, धर्म आदि बहुविषय पनि उठान गरेको उहाँको भनाइ थियो । बहुपति प्रथा नै उपन्यासको मुख्य विषयवस्तु भएको उहाँले बताउनुभयो । सामाजिक कुरीतिको रुपमा अन्य समाजले मानेको विषयलाई बाहिर ल्याउनु कठिन कार्य भएको बताउँदै उहाँले सो चुनौती लिन उपन्यासकार तयार भएकोमा गर्व लागेको जनाउनुभयो । उपन्यासमा महिलाको विषय उठान गर्न महिला लेखक भएकाले नै अझ सशक्त भएको उहाँको भनाइ थियो । उपन्यासकार कार्कीको लेखन खारिँदै गएको भन्दै उहाँले भाषाशैली, कथा बनोट सरल र सहज भएको उल्लेख गर्नुभयो । उपन्यास समग्रमा उत्कृष्ट र सफल भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रा.डा. सावित्री मल्ल कक्षपतिले पछिल्लो समय अनुसन्धानमूलक कृतिका लेखक र पाठकको संख्यामा वृद्धि भएको बताउनुभयो । ‘द्रौपदी अवशेष’ पुस्तकको बाहिरी तस्विर नै उत्कृष्ट र प्रभावकारी भएको उहाँको भनाइ थियो ।

हुम्लामा बहुपति विवाहलाई द्रौपदी विवाह भन्ने गरेको उल्लेख गर्दै द्रौपदी अवशेष त्यहाँ अद्यावधिक रहेको उहाँले बताउनुभयो । महिलाहरू पीडित हुने क्रम अझै पनि रहेको भन्दै त्यही कुरालाई उपन्यासले उठान गरेको उहाँको भनाइ थियो । महिलालाई मानसिक भय दिएर परम्परा कायम राखेको उहाँको टिप्पणी थियो । एउटी महिलाले पाँच जना एकै घरका दाजुभाइसँग विवाह गर्नुपर्ने र सबैलाई समान व्यवहार गर्नुपर्ने नगरे पाप लाग्ने, नर्क जानेजस्ता भ्रम देखाएर महिलामाथि हिंसा भइरहेको उहाँको भनाइ थियो । यही महिला पीडाको विषय उपन्यासकारले उठान गरेको उहाँले बताउनुभयो ।

उपन्यास पढ्दा त्यही भूगोल र परिवेशमा पाठकलाई पुर्याउने र सँगसँगै घुमाउने पनि उहाँको अनुभव थियो । उपन्यासमा यथार्थता र विविधता भएको भन्दै उपन्यास पढ्दा बागलुङमा गएर टिमुर हालेको, जिम्बुले झानेको थकाली खाना खाएजस्तो चखिलो भएको कक्षपतिले बताउनुभयो ।

यो उपन्यासमा चलचित्र बन्नसक्ने बलियो सम्भावना भएको समेत उहाँले बताउनुभयो तर चलचित्र बनाउन हतार नगर्न पनि उहाँले उपन्यासकार कार्कीलाई आग्रह गर्नुभयो । बीपी कोइरालाको ‘तीनघुम्ती’ उपन्यास र ‘परिबन्ध’ कथा चलचित्र बनाउँदा बिग्रिएको भन्दै यो उपन्यासलाई चलचित्र बनाउनुअघि गम्भीर बन्न उपन्यासकारलाई उहाँको आग्रह थियो ।साहित्यपोष्ट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्