बिहीबार पहिलो दिन १५ लाख व्यक्तिको गणना

राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट सुरु गरिएको छ ।पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु गरिए पनि देशैभर जनगणना प्रारम्भ गरिएको छ । सुरुकै दिन करिब १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्याङ्क विभागले दिएको छ ।

राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिन तथ्याङ्क लिइएको हो। जनगणना लिएको सबै तथ्याङ्क गोप्य राखिनेछ ।जनगणनाका लागि देशैभर ७५३ वटा स्थानीय तहका छ हजार ७४२ वटै वडामा गरी ३९ हजार जना गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्य क्षेत्रमा खटिएका छन् । पाँच जना गणकलाई एक जना सुपरिवेक्षकले यस अगाडि गरिएको घर तथा घरपरिवारको सूचीकरणको फारम र नक्सा प्रदान गरेर अनुगमन, समन्वय र सहजीकरण गरिरहेका छन्।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । त्यसकै आधारमा हाल जनगणना गरिएको छ । यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ नेपालमा १२औँ जनगणना हो । पहिलो पटक १९६८ सालमा चन्द्रशमशेरको पालमा पहिलो जनगणना भएको थियो ।२०७८ सालमा जारी जनगणनामा तीन करोडभन्दा बढी जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरी १५ दिनसम्म गरिएको जनगणनाको प्रारम्भिक विवरण आउन कम्तीमा तीन महिना र पूरै विवरण आउन छदेखि नौ महिना लाग्ने जनाइएको छ । नेपालमा हरेक १०÷१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ ।

जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ। दार्च‘लाको लिम्पियाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्