प्रतिगमनकारी सल्बलाउँदै छन्ः अर्थमन्त्री शर्मा

पोखरा, २७ कात्तिक

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमन केही परास्त भए पनि सल्बलाउन नछोडेको बताएका छन् । पोखरामा प्रेस सेन्टर गण्डकीको अधिवेशनलाई उद्घाटन गर्दै उनले संविधान च्यात्न खोज्नेहरु हाबी हुन लागेको बताए । ‘प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, उपलब्धि उल्ट्याउन खोज्नेहरु गठबन्धनका कारण केही हदसम्म परास्त भएका छन्,’ उनले भने, ‘तर फेरि उनीहरु सल्बलाइरहेका छन् । त्यस्ता शक्तिलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुपर्छ ।’

कांग्रेसको नेतृत्वमा बनेको ५ दलीय गठबन्धन सत्ता प्राप्तिका लागि नभई संविधानको रक्षाका लागि भएको उनको दाबी छ । ‘प्रतिगमनविरुद्ध आन्दोलन गरेर जुन गठबन्धन भएको छ, यो गठबन्धनको तात्पर्य सरकारमा सहभागी हुनेमात्र कुरा होइन । संविधानको रक्षा गर्ने कुरा हो, परिवर्तनको रक्षा गर्ने र संविधान कार्यान्वयन गर्ने कुरा हो,’ उनले भने ।

शर्माले लोकतन्त्रको पक्षमा एकीकृत हुन आग्रह गरे । ‘बचनले होइन, कर्मले लोकतन्त्रको सेवा गर्नुपर्छ । बचनले लोकतन्त्रका कुरा गर्ने, कर्मले प्रतिगमन गर्ने तत्वहरु छन् । त्यसकारणले काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिनुपर्छ,’ उनले थपे, ‘राज्यसत्ता र सरकारका कामले संविधानलाई च्यात्ने प्रयास गर्छन् भने सबै साथीहरु आन्दोलनमा जानुपर्छ । जनचाहना र लोकतन्त्र विपरीत हुने काममा खबरदारी गरिनुपर्छ ।’

उनले उत्पादन, रोजगारी र समृद्धिको अभियानलाई साथ दिन पनि आग्रह गरे । माओवादी अध्यक्ष प्रचण्डको विचारले अहिले पनि देश अगाडी बढिरहेको उनको तर्क  छ ।  ‘वर्ग संघर्षदेखि जनयुद्ध हुँदै शान्ति प्रक्रियामा रुपान्तरण भएर गणतन्त्र ल्याउनेसम्मको नेतृत्व नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले गर्नुभएको हो । ती उपलब्धी रक्षा गर्ने काम पनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नै गरिरहनुभएको छ,’ उनी भन्छन्, ‘यसमा गिरिजाप्रसादको पनि भूमिका र योगदान छ । मैले भनेका कुरा माओवादीको होइन, राष्ट्रको कुरा हो ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्