स्वास्थ्य कार्यालय धादिङले जिल्लाका छ वटा सामुदायिक माध्यमिक बिद्याललाई प्रोजेक्टर र ल्यापटप वितरण गरेको छ।सामुदायिक बिद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई प्रजनन् तथा यौन शिक्षा दिने उद्देश्यले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको बिशेष अनुदान कार्यक्रमबाट व्यवस्थापन गरिएको एलसिडी प्रोजेक्टर र ल्यापटप सोमबार धादिङबेशीमा एक कार्यक्रमबीच छ सामुदायिक बिद्याललाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ धादिङका कृष्ण कुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बिद्यालयका प्रधानाध्यापक तथा बिषय शिक्षकहरुलाई हस्तान्तरण गर्नुभएको हो।
अहिले गंगाजमुनाको बद्रिविशाल मा.वि, त्रिपुरासुन्दरीको महेन्द्रदय मा.वि, ज्वालामुखीको बराहकालिका मा.वि,नेत्रावती डवजोङको मंगलादेवी मा.वि, रुवीभ्यालीको च्याम्रदेवी मा.वि र खनियाबासको गणेशकुण्ड मा.विलाई ल्यापटप र प्रोजेक्टर वितरण गरिएको सामाजिक विकास मन्त्रालय बिशेष अनुदान कार्यक्रमको कार्यक्रम संयोजक अप्सरा अमगाँईले जानकारी दिनुभयो।
विद्यालय नर्स नभएका माध्यमिक विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य शिक्षकहरुलाई अभिकुखिकरण पश्चात बिद्यालयकै शिक्षक तथा स्वास्थ्यकर्मी मार्फत विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सहज वातावरण बनाउन तथा यौन शिक्षा दिन ल्यापटप र प्रोजेक्टर वितरण गरिएको कार्यक्रम संयोजक अमगाँईले बताउनुभयो।
अघिल्लो बर्ष वितरण गर्नुपर्ने सामग्री कोभिड महामारी कारण रोकिएको थियो।यो कार्यक्रम यो वर्ष पनि लागु भएको छ । यो वर्षको लागि खरिदको कामहरु सुरु गरिएको र जिल्लाका बाँकी १३ वटा विद्यालयलाई वितरण गरिने अमगाँईले बताउनुभयो।यो कार्यक्रम विद्यालय नर्स नभएका जिल्लाको २४ वटा विद्यालयमा लागु हुन लागेको उहाँको भनाई छ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक बिष्णु रिजाल,ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठ,स्वास्थ्य कार्यालय धादिङका स्वास्थयकर्मीहरु लगाएतको सहभागिता रहेको थियो।