रोटरी क्लव अफ तिलोत्तमा द्धारा मृगौला पिडित गौतमलाई आर्थिक सहयोग

स्वास्थ्यसमाचार
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले मृगौला पिडतको उपचारकालागि आर्थिक सहायता प्रदान गरेको छ । दुबै मृगौला फेल भएपछि विगत ८ वर्षदेखि डाईलाईसिस गर्दै आएका तिलोत्तमा नगरपालिका वडा नं. ११ निवासी ५८ वर्षीय जयलाल गौतमलाई क्लवले उपचारकालागि ४० हजार रुपैंया सहयोग प्रदान गरेको हो ।

क्लवको नियमित बैठकमा शनिबार क्लवका अध्यक्ष ओमप्रसाद अर्यालले मृगौला पिडित गौतमलाई ४० हजार रुपैंयाको चेक हस्तान्त्रण गरे । मृगौला पिडित गौतमले हाल गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौला डाईलाईसिस भईरहेको वताए । उनले क्लवले आफूलाई सहयोग गरेकामा आभार व्यक्त गर्दै आफूसंग भएको सबै पैसा हालसम्म उपचार गर्दा सकिएकाले थप उपचारकालागि सबैसंग आर्थिक सहायताकालागि याचना समेत गरे ।

गुल्मीको पौदी अमराईबाट रुपन्देही बसाईसराई गरेका मृगौला पिडित गौतमको उपचारमा आर्थिक सहायता प्रदान गर्न चाहनेले हिमालयन बैंकमा रहेको उहाँकै खाता नं. ०१७०५८६८६९००१९ मा पैसा राखिदिन समेत आग्रह गरे । सोही बैठकमा क्लवका अध्यक्ष ओमप्रसाद अर्यालले स्वर्गीय आमा डम्बरकुमारी अर्यालको स्मृतिमा ५० हजार रुपैंयाको ‘थाईरोईड क्यान्सर पिडितकालागि आर्थिक सहयोग अक्षयकोष’ स्थापनाको घोषणा गरे ।

उक्त कोषमा निरन्तर रकम बृद्धि गर्दै लैलाने र त्यसको व्याजबाट थाईरोईड क्यान्सर पिडित भएका गरिव तथा विपन्न व्यक्तिको उपचारमा सहायता प्रदान गरिने बताए । थाईरोईड क्यान्सर पिडित डम्बरकुमारीको गत फागुन २१ गते उपचारकै क्रममा निधन भएको थियो । त्यस अवसरमा क्लवका सदस्य तथा अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा. सतिस रुपाखेतीले बालबालिकामा हुने अटिजम समस्याका बारेमा जानकारी गराए । अटिजम बालबालिकामा जन्मजात हुने मानसिक अपांगताको अवस्था हो ।

यसको २–३ वर्ष भित्रै पत्ता नलगाउने र उपचार नहुने हो भने पछि उपचार सम्भव नभएकाले आफ्ना बालबालिकाको समयमै राख्रो ख्याल गर्न आग्रह गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्