बैतडी जिप दुर्घटना अपडेट मृतकको संख्या पाँच पुग्यो

बैतडी, २० मंसिर

बैतडीमा सोमबार साँझ भएको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका-१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका-७ कैलपाल जाँदै गरेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर सुर्नया गाउँपालिका-४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीया मनीषा विक, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । 

मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरू घरबाट माइतीघर पाटन-७ कैलपाल फर्कंदै गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका पाँच जना मध्ये दुई जनालाई डडेल्धुरा रेफर गरिएको छ । पाटन नगरपालिका-१ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।  

जिप चालक बैतडीको पाटन नगरपालिका-५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्