आठ लाख ७० हजार क्रियाशील सदस्यसहित काँग्रेस पहिलो

काठमाडौँ।केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् । नेपाली काँग्रेसका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचना सशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटिरहँदा क्रियाशील सदस्यता वृद्धिसँगै वडा र पालिकाहरूमा पनि पार्टी नयाँ नेतृत्व चयन गरिएको छ । पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु–याउँछ ।”

कार्यकर्तामा काँग्रेस धनी
नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ । महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ । नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ । कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, “नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजारभन्दा बढी भएको छ । यो सङ्ख्या नयाँ र पुराना क्रियाशील सदस्यसहितको हो ।”

काँग्रेसले क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ । शर्माका अनुसार, आठ लाख ४० हजार १०६ क्रियाशील सदस्यको नामावली वेबसाइटमा राखिएको छ । बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको छ ।
उहाँले भन्नुभयो, “अझै केही जिल्लाको क्रियाशील सदस्यको सूची वेबसाइटमा राख्ने काम भइरहेको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट पनि क्रियाशील सदस्यको सूची प्राप्त हुँदै छ । क्रियाशील सदस्य सङ्ख्या अझै बढ्न सक्छ ।” काँग्रेसमा युवाको आकर्षण पनि वृद्धि भएको तथ्याङ्कले देखाएको छ । क्रियाशील सदस्यहरूमा १६ देखि २५ वर्ष उमेर समूहका ५ प्रतिशत र २६ देखि ४० वर्षसम्म उमेर समूहका झन्डै ३० प्रतिशत क्रियाशील सदस्य छन् ।

एमालेको आठ लाख
नेकपा (एमाले)ले १०औँ महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको प्रक्रिया चलिरहँदा एमालेले अध्यावधिक गरेको तथ्याङ्कमा पार्टीका सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको दाबी गरिएको छ । एमाले सचिव योगेश भट्टराईले पार्टी फुटको असर खासै नपरेको बताउनुभयो । उहाँले पार्टीमा युवाको प्रतिनिधित्व वृद्धि भएको पनि जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “नेकपा एमालेमा सङ्गठित सदस्यको सङ्ख्या आठ लाख ५५ हजारभन्दा बढी छ । त्यसमा पनि ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अत्यधिक छ । झन्डै ५० प्रतिशत युवा सङ्गठित सदस्य रहेका छन् ।”

माओवादीका साढे सात लाख
नेकपा (माओवादी केन्द्र)ले पनि सङ्गठन विस्तार तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा तहदेखि नै सङ्गठन निर्माण गरिरहेको छ ।माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले पार्टीका सङ्गठित सदस्य सात लाख ५० हजार पुगेको बताउनुभयो । उहाँले थप ५० हजार सङ्गठित सदस्य थपिने बताउनुभयो । विक्रम संवत् २०७५ देखि ०७८ सम्मको चलेको पार्टी एकता र केही क्षेत्रको सङ्गठित सदस्यहरूको तथ्याङ्क अध्यावधिक हुन बाँकी रहेको ढकालले बताउनुभयो ।

मुख्यसचिव ढकालले भन्नुभयो, “एमालेसँग एकतापछि सङ्गठन अस्तव्यस्त भएको थियो । त्योभन्दा अगाडि हाम्रो पार्टीमा सङ्गठित सदस्य सङ्ख्या तीन लाखभन्दा बढी थियो । विभिन्न राजनीतिक दल र सङ्गठनहरूसहित ४५ वटा समूहसँग पार्टी एकता भयो । राष्ट्रिय सम्मेलनमार्फत सबै सदस्यलाई व्यवस्थापन गर्दा सङ्गठित सदस्य सङ्ख्या सात लाख ५० हजार पुगेको हो ।”

एक वडा एक हजार: समाजवादी
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादीले ‘एक वडा एक हजार पार्टी सदस्य र एक सय सङ्गठित सदस्य’को अभियान सञ्चालन गरिरहेको छ । एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन निर्माणका लागि तीनमहिने अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकृत समाजवादीमा झन्डै तीन लाख सङ्गठित सदस्य अहिले पनि छन् । हामी तीनमहिने अभियानमार्फत छ लाख सङ्गठित सदस्य पु¥याउने लक्ष्यका साथ हामी वडा–वडामा पुगिरहेका छौँ ।’

राप्रपाले सङ्गठन विस्तार गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबारमात्रै नयाँ नेतृत्व पाएको छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको सङ्गठन बलियो बनाउन अभियान थाल्ने बताउनुभयो ।गोरखापत्रसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो, “राप्रपाको देशभरि रहेको सङ्गठनमा अहिले एक लाख ५० हजार सदस्य छन् । साङ्गठनिक संरचना सुदृढ गर्नका लागि अभियान सञ्चालन गर्न नयाँ नेतृत्व प्रतिबद्ध छ ।”-गोरखापत्र

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्