कांग्रेस महाधिवेशन : १३४ पदका लागि आज निर्वाचन,धादिङबाट ९ जनाको उम्मेदवारी

नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज साेमबार मतदान हुँदैछ । गत शुक्रबारबाट सुरु भएकाे महाधिवेशनमा आइतबार उम्मेदवारकाे अन्तिम नामालवी प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानकाे कार्यतालिका निर्धारण गरिएकाे छ ।

सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।

प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । 

महाधिवेशन अन्तरगत धादिङबाट विभिन्न पदको लागि ९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दाेस्राे चरणमा निर्वाचन हुनेछ।

धादिङका नेता तथा सांसद डाक्टर राजाराम कार्कीले महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।पूर्वमन्त्री एवम् धादिङका नेता दिलमान पाख्रिनले आदिवासी जनजाती खुल्ला तर्फ केन्द्रीय पदका लागि उम्मेदवारी दिनुभएको छ।

धादिङका निवर्तमान सभापति रमेश धमलाले बागमती प्रदेशको तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ भने धादिङबाट दलित कोटाबाट गोपाल विश्वकर्मा, खस आर्य महिला तर्फबाट उर्मिला थपलिया र अप्सरा कोईराला, खुल्ला महिलाको तर्फबाट कल्पना अधिकारी,
खुल्ला तर्फबाट रामशरण थपलिया र आदिवासी जनजाती महिला तर्फबाट शान्ताकुमारी तामाङले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्