धादिङसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै,भोलिदेखि मौसममा बद्ली हुने

धादिङसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पहाडी क्षेत्रको मौसम आज आंशिक बद्ली हुने छ भने तराईका जिल्लामा दिउँसोको समयमा मौसम सफा रहने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे र पौने ९ बजे न्यूनतम तापक्रम मापन गर्दै आएको छ । चिसो बढेकाले पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् नगरकोटीले बताउनुभयो ।

भोलिदेखि भने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली भइ त्यस क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।यो प्रणालीका कारण आउँदो दिनमा तापक्रम अझै घट्ने उहाँको भनाइ छ ।

पर्सि शनिवार बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । यो मौसमी प्रणालीका कारण पर्वतारोहण तथा यात्रा लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव लिएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्