राष्ट्रियसभा चुनावका लागि नेपाली काँग्रेसले भोलि दल दर्ता गर्ने

नेपाली काँग्रेसले राष्ट्रियसभा चुनावका लागि भोलि दल दर्ता गराउने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको लागि आजसम्मको समय तोकेको भएपनि सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले भोलि दल दर्ताको लागि निवेदन दिने सभापति शेरबहादुर देउवाले बताउनुभयो ।

संवैधानिक व्यवस्थाअनुसार साढे ५ वर्षभित्र महाधिवेशनबाट नयाँ कार्यसमिति आएकोबारे निर्वाचन समितिमा बुझाउने नियम छ । त्यही नियमअनुसार आज १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बसेको छ । गत २४ देखि २७मङ्सिरमा काठमाडौँमा सम्पन्न महाधिवेशनबाट काँग्रेसको पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने सङ्कल्प गरेको छ।

यस्तै पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिन, राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने तथा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ । काँग्रेसले भोलि केन्द्रीय कार्यसमिति र ७ वटै प्रदेश कार्यसमितिको सूची निर्वाचन समितिमा बुझाउने तयारी गरेको छ ।

आज केन्द्रीय निर्वाचन समितिले सबै निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र दिएपछि केन्द्रीय समितिको पहिलो बैठक बसेको हो । आजै काँग्रेसका नेताहरूको वरियता क्रम पनि तोकिएको छ। वरियतामा सभापति देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा हुनुहुन्छ। सभापति पदमा हार व्यहोर्नुभएका डाक्टर शेखर कोइरालालाई भने २० नम्बरमा राखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्